रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा विद्यार्थीको प्रदर्शन

शुक्रबार, ९ फागुन, २०८१
डिजिटल संस्करण

सिराहाको नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि हत्या र भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएको भन्दै सिराहाको लहान र गोलबजारमा विद्यार्थीले न्याय माग्दै प्रदर्शन गरेका छन्। 

सिराहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले शुक्रबार ‘रिंकु र प्रकृतिलाई न्याय दे’, ‘घटनामा संलग्न अपराधीलाई कारबाही गर’लगायतका नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरे। प्रदर्शनमा सहभागी विद्यार्थीले दुवै घटनामा संलग्न अपराधीलाई कानुनी कारबाहीका लागि दबाब दिन सबै पक्षले आवाज उठाउनुपर्ने माग गरे।

त्यस्तै, विद्यार्थी जनमत संघसम्बद्ध विद्यार्थीले शुक्रबार लहानस्थित सहिद चोकमा दलितमाथिको ‘दमन बन्द गर’, ‘रिंकु सदाय र प्रकृति लम्साललाई न्याय दे’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन्। 

आरोपीहरू छिट्टै पक्राउ पर्छन् : प्रदेश गृहमन्त्री 
मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले नवराजपुर– १ भगवतीपुरकी रिंकु सदायको शंकास्पद मृत्यु प्रकरणसँग जोडिएका आरोपीहरू छिट्टै पक्राउ पर्ने बताएका छन्। मन्त्री लेखीले शुक्रबार प्रदेश राजधानी जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत घटनामा संलग्नहरू पक्राउ गर्न प्रहरी परिचालन गरिसकेकाले छिट्टै पक्राउ पर्ने आश्वासन दिए।

घटना शंकास्पद देखिएको र धरानमा गरिएको शवको पोस्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा खुल्ने उनले बताए। मृतककी आमाले घटनामा संलग्नहरू र पञ्चायतीमा आर्थिक लेनदेनको निर्णय गरी बार्गेनिङ गर्नेहरूविरुद्ध पूरक जाहेरी दिइसकेकाले अब प्रहरीलाई अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाउन सहज भएको उनको भनाइ छ। मन्त्री लेखी स्वयं बिहीबार भगवतीपुर गाउँ पुगी पीडित परिवार, छरछिमेकसँग भेटेर घटनाबारे जानकारी लिएका थिए।

दलितमाथिको अत्याचार रोक्न माग
दलित समुदायमाथि भइरहेको हिंसा, बलात्कार र अन्तरजातीय विवाह गर्ने जोडीमाथि राज्यसंयन्त्रकै संलग्नतामा दमन गर्ने दोषीहरूविरुद्ध कडा कारबाही गर्न माग गरिएको छ। सप्तरीको कञ्चनरूपस्थित दलित सरोकार मञ्च नेपालले शुक्रबार प्रेस विज्ञप्तिमार्फत सिराहा, सर्लाही, रौतहटलगायतका जिल्लामा दलित समुदायमाथि भइरहेको अन्यायका घटनामा संलग्न दोषीलाई तत्काल कारबाहीको माग गरेको हो।

मञ्चले नवराजपुर– १ भगवतीपुर गाउँकी १७ वर्षीया दलित किशोरीमाथि स्थानीय तीन युवकले सामूहिक बलात्कार गरेको घटनालाई स्थानीय अगुवाहरूले पञ्चायती गरी मिलापत्र गराएको भन्दै त्यसमा संलग्नहरूलाई पूरक जाहेरीको आधारमा तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको हो।

त्यस्तै, सर्लाहीमा सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारले कानुनी रूपमा गरेको अन्तरजातीय विवाहपछि राजनीतिक पहुँचको दुरुपयोग गर्दै भारतसम्म गएर पक्राउ गर्नु गम्भीर विषय भएको मञ्चले जनाएको छ। सत्येन्द्रलाई बालविवाहको झुटा आरोप लगाएर फसाउन खोजिएको भन्दै मञ्चले सर्वोच्च अदालतबाट नेहालाई सत्येन्द्रकै जिम्मा लगाउने आदेश दिएको भए पनि निरन्तर धम्की दिइनु मानव अधिकार उल्लंघन भएको जनाएको छ। 

विज्ञप्तिमा रौतहटस्थित वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवान र मुस्लिम नेता सलाउद्दिन दर्जीलाई राज्यसंयन्त्रद्वारा झुटा मुद्दामा फसाउने प्रयास भएको आरोप लगाउँदै मञ्चले जातीय भेदभावविरुद्ध आवाज उठाउनेहरूलाई प्रहरी प्रशासनको समेत मिलेमतोमा प्रतिशोधस्वरूप फसाउने प्रयास भइरहेको उल्लेख छ। उक्त घटनाको पनि निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मञ्चले माग गरेको छ।

सुझावित समाचार