गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ। कपडा बैंकको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का र अभियन्ता तथा क्लोथ एन्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले शुभारम्भ गरे।
कपडा बैंक गाउँपालिकाको सहकार्यमा क्लोथ एन्ड फुड बैंक नेपालले स्थापना गरेको हो। गाउँपालिका अध्यक्ष खड्काले इस्माको आगलागीमा खुला आकाशमा जीवन कटाएकाहरूको तत्कालीन अवस्थाको स्मरण गर्दै विपतमा अतिआवश्यक सामाजिक कार्यका लागि क्लोथ एन्ड फुड बैंक नेपाल र अध्यक्ष कमल जिसीलाई आभार प्रकट गरे। उनले सामाजिक भावनाको संकटका वेला यो कामले सबैलाई सकारात्मक बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
आफ्नो घर, टोल र समाजलाई सफा राखौँ, कोही कपडाविहीन नरहून् भन्ने उद्देश्य राखेर ०८० फागुन ५ गते बुटवलबाट कपडा बैंक सञ्चालनमा आएको थियो। अहिलेसम्म बैंकमार्फत ११ सयभन्दा बढी घरपरिवारमा कपडा वितरण गर्नुका साथै १६० भन्दा बढी निकायसँग जोडिएको संस्थाका अध्यक्ष कमल जिसीले जानकारी दिए।
बाढी, पहिरो र आगलागीजस्ता विपतमा सहयोग गरिरहेको कपडा बैंकले सामाजिक सहयोग र सहानुभूति प्राप्त गरेको, फोहोर व्यवस्थापन, आर्थिक उपयोगिता, राष्ट्र निर्माणमा योगदान र संसाधनको सही उपयोग गरेको क्लोथ एन्ड फुड बैंक नेपालका अध्यक्ष जिसीले बताए। बैंकले प्रयोगमा नआएका प्रयोगजन्य सामग्री पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरूलाई निःशुल्क वितरण गर्ने उद्देश्य राखेको छ।
कपडा बैंक सञ्चालनको अवधि १० वर्षको हुनेछ। पाँचदेखि सात सय किलो कपडा राख्न मिल्ने बक्स रहेको छ। बैंकले कपडा संकलन, सर्टिङ, वासिङ, सेनिटाइजिङ, प्याकेजिङ र वितरणको काम गर्नेछ। जिल्लामा यसअघि चन्द्रकोट गाउँपालिकामा पनि कपडा बैंक स्थापना गरिएको छ।