तीस शारीरिक अपांगता भएकाले पाए बाख्रा

शुक्रबार, ९ फागुन, २०८१
डिजिटल संस्करण

शारीरिक रूपमा अपांगता भएका मन्थली नगरपालिका– ५ सुनारपानीका ३० जनालाई अपांग सचेतन सेवा केन्द्र रामेछापले बाख्रा वितरण गरेको छ । सचेतन सेवा केन्द्रले मन्थली नगरपालिका, सुनारपानी वडा कार्यालय र बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोगमा ३० जना अपांगता भएका व्यक्तिहरूलाई चिट्ठा प्रथामार्फत बाख्रा वितरण गरेको हो । संस्थाले अपांगता भएका व्यक्तिहरूको आर्थिक उपार्जन होस् भन्ने उद्देश्यका साथ बाख्रा वितरण गरिएको अपांग सचेतन सेवा केन्द्र रामेछापका कोषाध्यक्ष पुरुषोत्तम घिमिरेले जानकारी दिए । 

अपांगता सचेतन सेवा केन्द्र रामेछापले आयोजना गरेको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले अपांगहरूलाई बाख्रा वितरण गरेकी थिइन् । सो कार्यक्रममा बोल्दै उपप्रमुख बस्नेतले सरकारले सुरु गरेको बाख्रा वितरणजस्ता कार्यले अपांगता भएका व्यक्तिहरूको आर्थिक तथा सामाजिक विकासमा पनि टेवा पुग्ने बताइन् ।

त्यसैगरी, सचेतन सेवा केन्द्रले मन्थली नगरपालिकाभित्र रहेका ३५ जना अपांगता भएका व्यक्तिलाई अपांगता अधिकार र कानुनी परामर्शसम्बन्धी प्रबाेधीकरण  तालिमसमेत दिएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोग र मन्थली नगरपालिकासँगको समन्वयमा  भएको उक्त तालिममा प्रशिक्षकद्वय मीना पौडेल र सोनिका ढकालले प्रशिक्षण दिएका थिए । 

त्यस्तै, उक्त संस्थाले मन्थली नगरभित्रका दुईवटा माविका १५ जना छात्रछात्रालाई शैक्षिक सामग्री  प्रदान गरेको छ । बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोग र मन्थली नगरपालिकासँगको समन्वयमा मन्थली माध्यमिक विद्यालय मन्थली र भैरवी माध्यमिक विद्यालय सुनारपानीका छात्रछात्रालाई मन्थली नगरप्रमुख लव श्रेष्ठको हातबाट शैक्षिक सामग्री वितरण गरिएको थियो । 
 

See More On

सुझावित समाचार