सेवा प्रवाह छरितो बनाउन अध्यादेश : मन्त्री भण्डारी

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाउन अध्यादेशमार्फत केही ऐन संशोधन गरिएको बताएका छन्। कैलालीको धनगढीमा सिप तथा रोजगार मेला उद्घाटन गर्दै मन्त्री भण्डारीले कामकारबाहीको प्रक्रिया छरितो र अनलाइनबाट सेवा दिने व्यवस्थासहित केही ऐन अध्यादेशबाट संशोधन गरिएको बताए। तर, अनलाइन सेवा र दर्तालाई छरितो र सहज बनाउन खोज्दा विपक्षीले अध्यादेशको विरोध गरेको उनको आरोप छ।

‘विनियोजन शीर्षक कार्यान्वयन गर्न ब्युरोक्रेसीले ६ महिना लगाउँछ, अहिले सात दिनभित्र फाइलमा निर्णय गर्ने भनेको छ। सात दिनभित्र कुनै पनि फाइल अगाडि बढाउनुपर्नेछ, नभए कारबाही गरिने भनेको छ,’ मन्त्री भण्डारीले भने, ‘अनि यसलाई पास हुन दिँदैनौँ भनेको के?’ उनले भने।

विगतमा नेपाल सरकार भनेको ‘मन्त्रिपरिषद्’ भन्ने व्याख्या रहेकोमा अहिले मन्त्रीस्तरीय निर्णय गर्न सकिने व्यवस्था अध्यादेशमार्फत गरिएको उनको तर्क थियो। नीतिमा सुधार गर्न खोज्दा यसलाई प्रतिष्ठाको विषय बनाएर सरकारले संसद् छलेर अध्यादेश ल्यायो, पास हुन दिँदैनौँ भनेको भन्दै भण्डारीले प्रतिपक्षी दलहरूप्रति आक्रोश व्यक्त गरे।

‘हिजो राजनीतिकेन्द्रित अध्यादेश हुन्थे। अहिले नीतिगत सुधारका लागि आएका छन् । त्यसमा निजी क्षेत्रले स्वागत गरेको छ । नीतिगत सुधार गरेर नेपालको पुँजी र प्रविधि प्रवर्द्धन गर्न खोजेका छौँ,’ मन्त्री भण्डारीले भने, ‘सुकुमवासी, भूमिहीन, अव्यवस्थित बसोबासीलाई जग्गाधनी बनाऔँ भन्दा यो अध्यादेश आवश्यक छैन, अनि गर्नुपर्ने के ? भ्रष्टाचार रोकौँ, प्रविधिमैत्री बनाऔँ, फाइल दर्ता गर्नेबित्तिकै स्वतः दर्ता हुने विषय पश्चगामी हुन्छ भने अग्रगमन भनेको के हो ? यसमा पनि साउने आँखाको चस्मा चलाउने हो भने सरकारले गर्नुपर्ने के हो?’

मन्त्री भण्डारीले कुनै पनि व्यवसायले २० प्रतिशतभन्दा बढी मुनाफा राखेर कमाउन नपाउने भन्ने आजको खुला बजार अर्थतन्त्रमा यो स्वाभाविक छ ? भन्दै प्रश्न गरे। ‘सात सय प्रतिशत नाफा कमाउन हाम्रा कानुन बन्देज छन् भने त्यसलाई फुकाउनु राम्रो हो कि नराम्रो ?’ उनले भने, ‘आज दुनियाले सात सय प्रतिशत नाफा कमाइरहेको छ । हाम्रा कानुनले २० प्रतिशतको ब्यारियरले नेपाल समृद्धिको आकांक्षा खोजिरहेको भन्छौँ। अनि यो काम गरौँ भन्दा अध्यादेशलाई कुनै पनि हालतमा पारित हुन दिन्नौँ भन्छन्।’ 

मन्त्री भण्डारीले कोरोनाका कारण धर्मराएको पुँजीबजारलाई उकास्ने प्रयास भइरहेको जिकिर गर्दै सिप, दक्षता बढाउन सके नेपालको श्रमबजार योभन्दा समृद्ध र बलियो बन्ने बताए।

सुझावित समाचार