रोल्पामा हुने पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

रोल्पामा शनिबारदेखि सुरु हुन लागेको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। सनस्टार युवा क्लब रोल्पाले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय भलिबल प्रतियोगिताका लागि खेलमैदान, प्यारापिट तथा अन्य सबै तयारी पूरा भएको क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए।

प्रतियोगितामा पहिलो हुनेले पाँच लाख राशिको पुरस्कारसहित सनस्टार कप जित्नेछ। त्यस्तै दोस्रो हुनेले दुई लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख र सान्त्वनास्वरूप एक टिमले ५० हजार रुपैयाँ हात पार्ने क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए।

यसका साथै उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डरलगायतलाई पनि नगदसहित पुरस्कृत गरिनेछ । प्रतियोगिताको जानकारी दिँदै अध्यक्ष केसीले रोल्पामा अहिलेसम्मकै ठुलो राशिको खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको बताए।

११ टोली सहभागी हुने
आयोजकका अनुसार प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ। प्रत्येक प्रदेशबाट एक–एक टोली तथा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी र नेपाल पुलिस क्लब र आयोजकको समूह गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने मूल नारा राखिएको प्रतियोगिता सम्पन्न गर्न विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट आर्थिक सहयोग संकलन गरिएको छ। अध्यक्ष केसीले राष्ट्रियस्तरको भलिबल आयोजना गर्नु आफैँमा चुनौतीपूर्ण रहेको भन्दै यसलाई सम्पन्न गर्न सबैको सकारात्मक सहयोगको अपेक्षा गरे।

जिल्लास्तरीय महिला भलिबल पनि हुने
सोही अवसरमा जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता पनि हुने भएको छ। स्थानीय तहको सिफारिसमा सहभागी हुने टोलीलाई उक्त प्रतियोगितामा सहभागी गराइनेछ। जसमा प्रथम हुनेले ५५ हजार, दोस्रोले ३५ हजार, तेस्रोले १५ हजार र चौथो हुनेले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

राष्ट्रिय भलिबलसहितको कार्यक्रम सम्पन्न गर्नका लागि करिब ४० लाखको खर्च अनुमान गरिएको छ। ‘राष्ट्रिय खेलाडीलाई यातायात, खान, बस्न, रेफ्री पारिश्रमिक, खेलकुद सामग्रीलगायत सबै खर्च अनुमान गर्दा करिब ४० लाख लाग्ने अनुमान गरिएको छ,’ क्लबका अध्यक्ष केसीले भने, ‘रोल्पाजस्तो विकट जिल्लामा पनि राष्ट्रियस्तरकै मापदण्ड पुर्याउने गरी सक्दो प्रयास गरेका छौँ ।’

सुझावित समाचार