पाँचदिने साना कृषि औजार निर्माण तथा मर्मत तालिम सम्पन्न

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

कृषियन्त्र परीक्षण तथा अनुसन्धान केन्द्रको सहकार्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ धनुषाको वार्षिक कार्यक्रमअन्तर्गतको सुधारिएको साना कृषि औजार निर्माण तथा मर्मतसम्बन्धी पाँचदिने तालिम सम्पन्न भएको छ। महोत्तरी र धनुषाका १५ जना कृषक र उद्यमीलाई कृषियन्त्र परीक्षण तथा अनुसन्धान केन्द्र सर्लाही नवलपुरमा सो तालिम दिइएको हो।

परियोजना कार्यान्वयन एकाइ धनुषाका निमित प्रमुख राकेशकुमार यादवको अध्यक्षता र कृषियन्त्र परीक्षण तथा अनुसन्धान केन्द्रका प्रमुख रामनाथ झाको प्रमुख आतिथ्यमा तालिमको समापन भएको हो । फागुन २ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको सो तालिममा कृषक तथा उद्यमीलाई साना कृषि औजारहरू घरमै निर्माण गर्न सक्ने तथा केही उपकरणहरू मर्मत गर्न सक्ने गरी दक्ष बनाइएको कार्यक्रम संयोजक कृषि इन्जिनियर मनीष साहले बताए।

उनले सामान्य समस्याकै लागि कृषि उपकरणहरू बिग्रेर थन्कने र मर्मत तथा सम्भारका लागि मोटो रकम खर्च हुने गरेकोमा सामान्य मर्मतसम्बन्धी जानकारीपछि कृषकहरूले घरमै मर्मत गर्न सक्ने गरी प्रशिक्षित गरिएकाे बताए। उनले केही सामान्य प्रकृतिका कृषि औजारहरू निर्माण गर्नसमेत उनीहरूले सिकेका बताए।

सुझावित समाचार