एमालेले पार्टीको एघारौँ महाधिवेशनलाई लक्षित गर्दै संगठन निर्माण र सदस्यता विस्तार अभियान अगाडि बढाएको छ । टोल तहसम्म कमिटी बनाउने उद्देश्यले माघबाट सुरु भएको तीनमहिने वडाकेन्द्रित जरा अभियानलाई एमालेले महाधिवेशनलक्षित संगठन निर्माण र सदस्यता विस्तारलाई केन्द्रविन्दुमा राखेर काम अगाडि बढाएको हो ।
तीन महिनामध्ये विशेषतः फागुन र चैतलाई पुराना सदस्यताको नवीकरण र नयाँ सदस्यता विस्तारलाई केन्द्रमा राखेर वडा र टोल तहसम्म कमिटी विस्तार र पुनर्गठन अभियान अगाडि बढिरहेको एमालेले जनाएको छ । प्रदेश र जिल्ला कमिटीको नेतृत्वमा अगाडि बढिरहेको अभियानमा सदस्यता नवीकरण र विस्तारसँगै पार्टीभित्रका समस्या समाधान र जनसरोकारको मुद्दाको सुनुवाइ तथा सम्बोधनमा ध्यान दिन महासचिव शंकर पोखरेलले सर्कुलर जारी गरेर निर्देशन दिएका छन् । एमालेले ७ माघको केन्द्रीय सचिवालय बैठकबाट आगामी २०, २१ र २२ भदौमा विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
काशीनाथ अधिकारी, संगठन विभाग प्रमुख, एमाले
०८२ को वर्ष सम्भवतः महाधिवेशन वर्ष हुने भएकाले पनि कोही नछुट्ने गरी नवीकरण गर्न जोड दिएका छौँ । दसौँ महाधिवेशनले एघारौँसम्म पुग्दा १० लाख सदस्य पुर्याउने लक्ष्य निर्धारण गरेका कारण योग्यता पुगेका समर्थकको बिचमा व्यापक सदस्यता विस्तारमा पनि जोड दिइरहेका छौँ ।
स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पार्टीले ०८२ भित्रै महाधिवेशन सम्पन्न गर्ने सोचसहित तयारी गरेकाले कोही पनि सदस्य नछुट्न गरी नवीकरण गर्न तथा दसौँ महाधिवेशनको लक्ष्यअनुसार समर्थकमाझबाट योग्यतमलाई नयाँ सदस्यता वितरण गर्न निर्देशन दिइएको जानकारी दिए ।
‘०८२ को वर्ष सम्भवतः महाधिवेशन वर्ष हुने भएकाले पनि कोही नछुट्ने गरी नवीकरण गर्न जोड दिएका छौँ । दसौँ महाधिवेशनले एघारौँसम्म पुग्दा १० लाख सदस्य पुर्याउने लक्ष्य निर्धारण गरेका कारण योग्यता पुगेका समर्थकको बिचमा व्यापक सदस्यता विस्तारमा पनि जोड दिइरहेका छौँ,’ अधिकारीले भने । अघिल्लो वर्षको अन्तिमसम्म एमालेमा साढे पाँच लाख संगठित सदस्य छन् । उनीहरूको नवीकरण गर्दै दसौँ महाधिवेशनको लक्ष्यअनुसार करिब साढे चार लाख सदस्य थपेर १० लाख पुर्याउने योजनामा एमाले छ । अधिकारीले नयाँ सदस्यता वितरण गर्दा महिला, युवा, दलित र श्रमिक वर्गलाई संगठित गर्ने गरी काम गर्न पनि निर्देशन दिइएको जानकारी दिए । ‘जनसंख्याको आधाभन्दा बढी हिस्सा रहेको महिलासँगै विशेषतः युवा वर्ग र दलितसहित तल्लो श्रमिक वर्गलाई संगठित गर्ने गरी नयाँ सदस्यता विस्तारमा जोड दिइएको छ,’ उनले भने ।
एमालेले ०८४ को आमनिर्वाचनमा बहुमत ल्याउने लक्ष्य घोषणा गर्दै वडाहरूमा कम्तीमा प्रतिभावान् १५ जना नयाँ युवालाई भर्ती गरेर प्रशिक्षित गर्न, विशेषतः महिलालाई संगठित गर्न जोड दिएको छ । अध्यक्ष केपी ओलीले महिलाहरू संगठित गर्ने मामिलामा अनेमसंघको भूमिका फितलो देखिएको भन्दै कामलाई केन्द्रविन्दुमा राखेर परिचालित हुन पटक–पटक निर्देशन दिँदै आएका छन् ।
विधान महाधिवेशनलगत्तै पार्टी महाधिवेशन आयोजना हुन सक्ने भएकाले एमालेका कमिटीहरू त्यसअनुसार नै अहिल्यैदेखि परिचालित हुने स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘ढिलोमा ०८३ को वैशाख, नत्र ०८२ भित्रै राष्ट्रिय महाधिवेशन आयोजना गर्ने गरी विधान महाधिवेशनको मिति तय भइसकेको अवस्था हो । दसौँ महाधिवेशन आयोजना भएको ०८२ मंसिरमै पाँच वर्ष टेक्छ, त्यसको ६ महिनाभित्र त महाधिवेशन गरिसक्नुपर्छ,’ गौतमले भने, ‘सामान्यतयाः विधान महाधिवेशन भएको ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन गरिसक्नुपर्छ भन्ने मान्यता र अभ्यास भएकाले पनि हामी एक वर्षभित्रै आयोजना गर्ने गरी अहिले सदस्यता नवीकरण, विस्तारलाई केन्द्रविन्दुमा राखेर अहिले अभियान अगाडि बढाइरहेका छौँ ।’
एमालेले पार्टीमा कम्तीमा एक लाख क्षमतावान् नयाँ युवालाई भर्ती गरेर पार्टीमा आबद्ध गराउने लक्ष्यसहित पार्टी निर्माण अभियान सञ्चालन गर्न निर्देशित गरेको छ । पुसमा सम्पन्न केन्द्रीय कमिटी बैठकले केन्द्रीय संगठन विभागको संगठन विस्तारसम्बन्धी कार्ययोजना पारित गर्दै ६ हजार ७४३ वटा वडामा कम्तीमा एक लाख क्षमतावान् नयाँ युवालाई भर्ती गरेर पार्टी कमिटीमा भर्ती गर्ने लक्ष्य राखेको थियो । कम्तीमा एउटा वडामा १५ जना क्षमतावान् युवालाई रोस्टर बनाएरै प्रशिक्षित गरी पार्टीमा आबद्ध गराउने कार्ययोजनामा भनिएको छ । लक्ष्य पूरा भएको अवस्थामा एक लाख एक हजार १४५ नयाँ युवा आबद्ध हुन सक्नेछन् ।
‘प्रत्येक वडामा सम्भावना बोकेका कम्तीमा १५ जना युवाको रोस्टर बनाउने (सूची तयार पार्ने) र नेतृत्व विकासका लागि विशेष प्रशिक्षण आरम्भ गर्ने । विदेश गएका पार्टीसमर्थक युवाहरूको विवरणसहितको लगत लिने र पार्टीको केन्द्रीय संगठन विभागमा पठाउने । निर्वाचन बुथकेन्द्रित सुरक्षा–प्रबन्धको अग्रिम तयारी थाल्ने । सम्भाव्य युवाहरूको खोजी गर्ने,’ बैठकले पास गरेको युवा नेतृत्व विकासको काम शीर्षकमा भनिएको छ । महासचिव पोखरेलले कूल मतदाताको कम्तीमा ६ प्रतिशतलाई पार्टी सदस्यता नवीकरण र विस्तार गर्नुपर्ने भन्दै तीनमहिने अभियानमा दशवटा कामलाई प्राथमिकताका साथ सम्पन्न गर्न अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।
०८२ को वर्ष सम्भवतः महाधिवेशन वर्ष हुने भएकाले पनि कोही नछुट्ने गरी नवीकरण गर्न जोड दिएका छौँ । दसौँ महाधिवेशनले एघारौँसम्म पुग्दा १० लाख सदस्य पुर्याउने लक्ष्य निर्धारण गरेका कारण योग्यता पुगेका समर्थकको बिचमा व्यापक सदस्यता विस्तारमा पनि जोड दिइरहेका छौँ ।