ओडिसामा सरकार र विद्यार्थीसँग समन्वय गर्दै नेपाली अधिकारी

क्याम्पसबाट निकालिएका एक हजार १८० विद्यार्थीमध्ये सयजना विश्वविद्यालय फर्किए

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको अन्तर्राष्ट्रिय छात्रावास सोमबारसम्म भरिभराउ थियो । नेपाली विद्यार्थीलाई निकालेको घटनापछि छात्रावास अहिले सुनसान छ । एक हजार १८० नेपाली विद्यार्थी बस्ने अन्तर्राष्ट्रिय छात्रावासमा बुधबार साँझसम्म सयजना फर्केका छन् । बिहीबार थप ५० जना फर्किनेछन् । 

‘८० प्रतिशतजति साथी नेपाल पुगिसके । उनीहरूले घर पुग्यौँ भनेर अनअफिसिएल ह्वाट्सएप ग्रुपमा लेखेका छन्,’ छात्रावास फर्केका पाल्पाका एक नेपाली विद्यार्थीले टेलिफोनमा भने, ‘अहिले विश्वविद्यालयका अधिकारीले दिनमा अनेकपटक माफी मागिरहेका छन् । माहोल बिस्तारै सकारात्मक हुँदै छ ।’ 

नेपाली दूतावासका काउन्सिलर सञ्जीव शर्मा दास र नवीन अधिकारीले दिनभर ओडिसा सरकारका अधिकारी, प्रहरी र नेपाली विद्यार्थीसँग समन्वय गरेका छन् । ‘ओडिसा राज्य सरकारले नेपाली विद्यार्थीका लागि हार्दिकतापूर्वक सहयोग गरेको छ । मंगलबारसम्म अलिकति शंकाको माहोल थियो । अहिले विश्वविद्यालय छात्रावासको माहोल शान्त छ, सुरक्षाको पूर्ण प्रत्याभूति छ,’ नेपाल प्रहरीका एसएसपी शर्माले भुवनेश्वरबाट नयाँ पत्रिकासँग भने । 

उनका अनुसार छात्रावासमा सयजना नेपाली विद्यार्थी फर्केका छन् । ‘कोलकाताबाट केही र ओडिसाका विभिन्न ठाउँ गएका विद्यार्थी फर्किँदै छन्,’ उनले भने, ‘बिहीबारबाट नेपाली विद्यार्थी कक्षामा सहभागी हुँदै छन् ।’ १३९ जना छात्रा रहेकोमा २० जना छात्रावास फर्किसकेको शर्माले बताए ।

विश्वविद्यालयका पदाधिकारीले बुधबार नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावकसँग डेढ घण्टा लामो जुम बैठक गरेका छन् । उनीहरूले विद्यार्थीलाई पठाउन अभिभावकलाई अनुरोध गरेका छन् । विद्यार्थी फर्किंदाको रेल खर्च विश्वविद्यालयले व्यहोर्ने र छात्रावासमा सुरक्षाको पूर्ण सुरक्षा र सम्मानको प्रत्याभूति रहने आश्वासन पनि प्रशासनले दिएको छ । नेपाली सुरक्षा अधिकारीहरू पनि परिस्थिति शान्त नभएसम्म भुवनेश्वरमा रहनेछन् ।

बुधबार मुख्यमन्त्री मोहनचरण माझीले नेपाली काउन्सिलरद्वय सञ्जीव शर्मा दास र नवीनराज अधिकारीसँग टेलिफोनमा कुराकानी गरेका थिए । ‘मुख्यमन्त्री ओडिसाबाहिर हुनुहुँदोरहेछ, फोनमा कुराकानी भयो । बिहीबार गृहमन्त्रीसँग भेट गर्दै छौँ,’ शर्माले भने । मुख्यमन्त्री माझीले केआइआइटी क्याम्पसमा शान्ति र सहज वातावरण पुनस्र्थापित हुने आश्वासन दिएका छन् । उनले नेपाली विद्यार्थीलाई क्याम्पसमा फर्कन र पढाइमा सहभागी हुन अनुरोध गरेका छन् ।

प्रदेश सरकारका मन्त्रीद्वय मुकेश महालिङ र सूर्यवंशी सुरज, मुख्य सचिव मनोज आहुजाले बुधबार नेपाली काउन्सिलरद्वय शर्मा र अधिकारीसँग स्टेट गेस्टहाउसमा छलफल गरेका थिए । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्री सुरजसँग फोनमा कुराकानी गरेकी थिइन् । उनले ओडिसाका उच्च शिक्षामन्त्री सुरजसँग नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छिन् । 

परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार मन्त्री सुरजले घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र नेपाली विद्यार्थीमाथि भएका घटनाको दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी दिएका थिए । ‘मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा होस्टेलमा रहेर पठनपाठन गर्न सक्ने गरी सुरक्षाको प्रबन्ध गरिएको जानकारी पनि दिनुभएको छ,’ पाठकले भने । विश्वविद्यालय प्रशासनले मंगलबार नेपाली विद्यार्थीसँग सार्जजनिक रूपमा माफी मागेको थियो । नेपाली विद्यार्थीलाई दुव्र्यवहार गर्ने स्टाफलाई बर्खास्त गरी कारबाही गरेको छ । घटनामा संलग्न पाँचजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको छ ।

बुधबार छात्रावास पुगेका राज्य सरकारका प्रहरी अधिकारी तथा जाँचबुझ समितिका अधिकारीले नेपाली विद्यार्थीलाई सान्त्वना दिएका थिए । 

सुझावित समाचार