एक राजासित एक सुन्दर र बुद्धिमान् घोडी थियो । कैयौँपटकको युद्धमा उसले राजालाई बचाएको थियो । घोडी राजाप्रति पूर्णतः बफादार थियो । घोडीले एक सुन्दर बछेडोलाई जन्म दियो । तर, बछेडो बलियो र हृष्टपुष्ट भए पनि एउटा आँखाले देख्न सक्दैनथ्यो ।
एक दिन बछेडोले आमासित सोध्यो– आमा, म सबै कुरामा पूर्ण छु । बलियो पनि छु । तर, एउटा आँखा देख्दिनँ, यस्तो किन ? घोडीले जवाफ दियो– म गर्भवती भएको समयमा मसित रिसाएर राजाले मलाई एक कोर्रा हिर्काएका थिए, जसको कारण तिम्रो यो अवस्था भयो । आमाको कुरा सुनेपछि बछेडोमा राजादेखि रिस उठ्यो र भन्यो– आमा, म ठुलो भएपछि राजासित यसको बदला लिन्छु ।
घोडीले भन्यो– राजाले हाम्रो पालनपोषण गरेका छन् । त्यसैको परिणामस्वरूप तिमी स्वस्थ र सुन्दर छौ । राजा हामीसित रिसाए भन्दैमा हामीले उनलाई कुनै क्षति पुर्याउनुहुँदैन । बछेडोले आमाको कुरा राम्ररी बुझेन । उसले मनमनमा भन्यो– ठुलो भएपछि म यसको बदला लिन्छु, लिन्छु ।
बछेडो जवान भयो । एकपटक राजाले युद्धमा जाँदा उसैलाई लिएर गए । युद्धको समयमा राजा घाइते भए । घोडाका लागि राजासित बदला लिने सुनौलो मौका थियो । ऊ राजालाई घाइते अवस्थामै छाडेर भाग्न सक्थ्यो । ऊ भागेपछि दुस्मनले राजालाई पक्रिन या मार्न सक्थे ।
तर, घोडाको मनमा यस्तो कुनै विचार आएन । ऊ तुरुन्तै राजालाई बोकेर दरबार फर्कियो । दरबार पुगेपछि उसले घोडीलाई भन्यो– आमा, आज राजासित बदला लिने गज्जबको मौका थियो । तर अचम्म ! मेरो मनमा बदला लिने विचार नै आएन । यस्तो किन भयो होला, आमा ?
घोडीले हाँस्दै भन्यो– छोरा, तिम्रो रगत र संस्कारमा धोका भन्ने छँदै छैन । तिमी कसैलाई पनि जानाजान धोका दिन सक्दै सक्दैनौ । तिमीमा मेरो अंश छ । मेरो बफादारीको संस्कार कसरी झुटो हुन सक्छ ?