प्रकृति लम्सालको शव गोरखपुर आइपुग्यो, आजै भैरहवा ल्याउने तयारी

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको शव गोरखपुर आइपुगेको छ।

आज बुधबार अपराह्न ५ बजे गोरखपुर ल्याइएको प्रकृतिको शवलाई राति ११ बजेसम्म भैरहवा ल्याइने पारिवारिक स्रोतले जनाएको छ। केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरहवाकी २१ वर्षीया प्रकृति लम्सालको शव दाहसंस्कारको लागि भैरहवास्थित घरमा ल्याउन लागिएको हो।

प्रकृतिका बुवा सुनील लम्साललगायत शव लिएर बिहान १० बजे भारतको ओडिसास्थित भुवनेश्वरबाट हिँडेका थिए। प्रकृतिको शव विश्वविद्यालयको छात्रावासमा भेटिएको थियो।

प्रकृतिको शव भैरहवास्थित घर ल्याएपछि आजै दाहसंस्कार गर्ने तयारी भएको सिद्धार्थनगर नगरपालिका वडा नं ८ का वडाध्यक्ष राजनजंग राणाले बताए। ‘अहिलेसम्मको पारिवारिक सल्लाहअनुसार आज नै दाहसंस्कार गर्ने कुरा छ, शव कति वेलासम्म भैरहवा आइपुग्छ, त्यसपछिको समयका आधारमा अर्को निर्णय पनि हुन सक्छ,’ वडाध्यक्ष राणाले बताए।

घटनाको जानकारी पाएपछि प्रकृतिका बुवा भारतको ओडिसा पुगेका थिए। प्रकृतिका बुवाआमा र भाइ काठमाडौंमा बसेर उद्योग सञ्चालन गर्दै आएका थिए। हजुरबुवा र हजुरआमा सिद्धार्थनगर नगरपालिका वडा नं ८ बैंक कोलोनीमा  बस्दै आएका छन्।
 

सुझावित समाचार