प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश– राष्ट्र जोगाउन र एकता कायम गर्न मलाई साथ दिनुस्

आफ्नो त्यागलाई कमजोरीका रुपमा नबुझ्न घुमाउरो चेतावनी

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका छन् । उनले राष्ट्रिय समस्या समाधानका लागि विगतमा आफूले त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको भन्दै ‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ आफूलाई साथ दिन आह्वान गरेका छन् । यद्यपि, उनले के गर्न लागेका हुन् भन्नेचाहिँ सन्देशमा उल्लेख छैन । 

‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ पूर्वराजा शाहले जारी गरेको १० मिनेट २७ सेकेन्डको भिडियो सन्देशमा भनिएको छ, ‘अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।’

पूर्वराजा शाहले जनताको हितका लागि ओहोदा र सुखसुविधा त्यागेको जिकिर गरेका छन् । ‘हाम्रो यो नेपाल देशभक्त पुर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ,’ उनले भनेका छन्, ‘यति मात्र होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा र सुखसुविधालाई पनि त्याग गरेका हौँ ।’ 

उनले आफ्नो त्यागलाई कमजोरीका रूपमा नबुझ्न पनि घुमाउरो चेतावनी दिएका छन् । ‘त्यागले कसैको कद सानो हुने होइन । र, त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन । कतै कुनै पनपक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आशय पनि यही हो,’ पूर्वराजाको सन्देशमा भनिएको छ, ‘हामीले इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उँभो लाग्दैनौँ भनेर हामी अघि बढौँ । देशका निम्ति राष्ट्रका खातिर हाम्रो निष्ठा र समर्पण सदैव हुनेछ । राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ ।’

उनले प्रजातन्त्र आजको युगको उत्तम शासनपद्धति हुनुपर्ने, मन, मगज र मतका आधारमा देशको विधि, व्यवस्था तथा मान्यताका आधारमा राज्य सञ्चालन गर्ने सर्वमान्य आदर्श हुनुपर्ने, तर त्यसो हुन नसकेको गुनासो पनि पोखेका छन्  ‘सुन्दर शब्द, आकर्षक आदर्शले मात्रै प्रजातन्त्र सार्थक हुने होइन । कर्म र व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सेवाभाव र सही प्रजातान्त्रिक आचरण हुनुपर्दछ । सबैको पहिचान हुनुपर्दछ । सबैको अस्तित्व सुरक्षित हुनुपर्दछ,’ उनको भनाइ छ, ‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष–विपक्षको अहमता र आफ्नै खालको स्वार्थ र हठवादले प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।’ 

पूर्वराजा शाहले देशको इतिहास मेटिँदै गएको तथा नेपालको अस्तित्व नासिँदै गएको पनि गुनासो गरेका छन् । उनले भनेका छन्, ‘होनहार जनशक्ति ताँती राखेर देशबाट बाहिरिँदै गएकाे छ । जन्मँदै नेपालीको शिरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार–व्यवसाय निरन्तर धराशायी बन्दै छन् । नेपालको पद्धति, नीति र गतिविधि ठीक छैन, यहाँ बसेर केही हुँदैन । श्रम, सीप, चेतना र ज्ञान भएका हाम्रा नानीहरूमा यसप्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।’

पूर्वराजा शाहले प्रजातन्त्र जनताको भरोसा र आशा जगाउने प्रणाली हुनुपर्नेमा जोड दिएका छन् । ‘प्रजातन्त्र फल्दै फुल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्किन्छ भन्ने भावना जागरण गर्ने हुनुपर्छ । तीन दशकयताको हाम्रो स्थिति यस्तो छैन । आमजनताको मुहारमा मुस्कान ल्याउने जनतालाई खुसी र सुखी बनाउने सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा हो,’ उनले सन्देशमा भनेका छन् । 

पूर्वराजा शाहले पहिलोपटक नेपालमा प्रजातन्त्रको मिर्मिरे उदय भएको दिन हजुरबा राजा त्रिभुवनको सम्झना गरेका छन् । ‘जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागिपरेको इतिहास साक्षी छ,’ उनले प्रजातन्त्रका लागि जीवनदान दिने ज्ञात–अज्ञात सहिदहरूलाई र यसमा क्रियाशील सबै पात्रहरूलाई सम्मानसमेत व्यक्त गरेका छन् ।

सुझावित समाचार