रसायनमुक्त कृषिका लागि कञ्चनपुरमा गँड्यौलाबाट प्रांगारिक मल उत्पादन सुरु

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण
  • भीमदत्त– १९, बागफाँटास्थित त्रिवेणी टोल विपत् व्यवस्थापन समितिले रसायनयुक्त मलको प्रयोगले मानव स्वास्थ्यमा असर पारेकाले गँड्यौला पालेर प्रांगारिक मल उत्पादन थालेको जनाएको छ

कञ्चनपुरको भीमदत्त नगरपालिका– १९, बागफाँटामा गँड्यौलाबाट प्रांगारिक मल उत्पादन सुरु गरिएको छ । त्रिवेणी टोल विपत् व्यवस्थापन समितिले गँड्यौलाबाट प्रांगारिक मल उत्पादन गरेको हो । समितिका अध्यक्ष सरस्वती चन्द (सिंह)ले गाउँमा रसायनमुक्त कृषिका लागि प्रांगारिक मल उत्पादन गरिएको बताइन् । ‘अन्नबालीमा रसायनयुक्त मलको प्रयोगले मानव स्वास्थ्यमा समेत असर परेको छ,’ उनले भनिन्, ‘त्यही भएर हामीले गँड्यौला पालेर प्रांगारिक मल उत्पादन गरिरहेका छौँ । 

उक्त बागफाँटामा गाईपालनका लागि खोर निर्माणसँगै उत्पादन गरिएको जैविक मल स्थानीयस्तरदेखि अन्य माग भएका स्थानमा बिक्री–वितरण गरिने पनि अध्यक्ष चन्दले बताइन् । गत असोजमा जैविक मल उत्पादनकै लागि त्रिवेणीधाममा गौशाला निर्माणको कार्य सुरुवात गरिएको थियो । 

सिद्धवैजनाथ त्रिवेणी धामका अध्यक्ष मिलन सिंहले छाडा पशु चौपायाको व्यवस्थापनसहित जैविक मल उत्पादन गरेर स्थानीयस्तरमा रोजगारी सिर्जना साथै मानव स्वास्थ्यका लागि रसायनमुक्त खेतबारी बनाउने अभियान रहेको बताए । उनका अनुसार भीमदत्त नगरपालिका, स्थानीय सरकार र निड्स नेपालको सहयोगमा गँड्यौला मल उत्पादन सुरु गरिएको बताए । 

‘छेउमै चौधर नदी छ, बर्सातका वेला नदी कटानीले विपत् निम्त्याउँछ,’ उनले भने, ‘यसको पनि समयमै व्यवस्थापन नभए यत्रो ठुलो योजना विफल हुन्छ, त्यसका लागि चौधर नदीको कटानी नियन्त्रण आवश्यक छ ।’ मल उत्पादन सुरु भइरहेको बताउँदै उनले अहिले नै १० क्विन्टलको अर्डर आएको बताए । तरकारीदेखिका अन्य अन्नबालीको उत्पादन वृद्धिका लागि प्रांगारिक मल अत्यन्तै उपयोगी भएको उनले बताए । ‘यो हाम्रो योजना बहुउपयोगी छ,’ उनले भने, ‘यसबाट किसानदेखि व्यवसायी सबैलाई लाभै–लाभ हुन्छ ।’ 

निड्स नेपाल स्कोट आर– ३ परियोजना संयोजक ईश्वर उपाध्यायले गँड्यौलाबाट जैविक मल उत्पादनका लागि आठ लाखबराबरको आर्थिक सहयोग एवं प्राविधिक सहयोग गरेको बताए । विपत् जोखिम रहेका बस्तीका स्थानीयको जीवनस्तर वृद्धि एवं स्थानीयस्तरमै रहेका स्रोत–साधनको उपभोग गरेर आत्मनिर्भर बनाउन सहयोग गरेको बताए । गत असोज दोस्रो साता भीमदत्त नगरकी उपप्रमुख नीलम लेखकले उक्त गौशालाको शिलान्यास गर्दै छाडा पशु चौपाया नियन्त्रण गरेर गाईपालनदेखि जैविक मल उत्पादनका लागि पालिकाबाट आवश्यक सहयोग गर्ने बताएकी थिइन् । 

शनिबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले उक्त गौशालाको स्थलगत अनुगमन गर्दै स्थानीयस्तरबाटै कृषिका कार्यक्रममा अग्रसरता देखाउँदै स्वदेशमै सम्भावनाको खोजी गर्नुपर्ने बताए । चौधर नदी नियन्त्रणका लागि प्रजिअ सापकोटाले सम्बन्धित सरोकारवालासँग छलफल गरेर समयमै तटबन्ध निर्माण गर्दै विपत्बाट जोगाउने प्रतिबद्धता जनाएका छन् । 

सुझावित समाचार