तीन हप्तादेखि तुम्लिङटार विमानस्थलमा उडान अवरुद्ध

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

संखुवासभाको एक मात्रै तुम्लिङटार विमानस्थलमा बाक्लो हुस्सु र तुवाँलोले करिब तीन हप्तादेखि उडान अवरुद्ध भएको छ । गत माघ १५ देखि नै लगातार हुस्सु र तुवाँलोका कारण जहाज अवतरण गर्न नसकेको हो । 

जहाज उडानका लागि पर्याप्त भिजिबिलिटी नभएपछि करिब तीन हप्तादेखि जहाज आउन नसकेको बुद्ध एयरलाइन्स तुम्लिङटारका स्टेसन म्यानेजर रामकुमार लुइँटेलले बताए । उनले जहाज आउनका लागि कम्ती तीन हजारदेखि पाँच हजार मिटरको भिजिबिलिटी खुल्नुपर्ने बताउँदै बाक्लो हुस्सु र तुवाँलोले डाँडाकाँडा नै नदेखिने गरी ढाकिएको बताए । ‘डाँडाकाँडावरपर बाक्लो हुस्सु लागेको छ । बर्सात् र हावाहुरी चले मात्रै मौसम खुल्छ र जहाज आउन सक्छ । नत्र यसै भन्न सकिने अवस्था छैन,’ लुइँटेलले भने ।

यहाँ हुस्सु र तुवाँलोले विमानस्थलनजिकैका डाँडाकाँडा ढाकेको छ । करिब तीन हप्तादेखि जहाज नआउँदा यात्रु अलपत्र परेका छन् । संखुवासभा हिमाली तथा पहाडी जिल्ला भएकाले सडक यातायातको प्रभावकारी सुविधा छैन । खाँदबारीदेखि धरान–विराटनगरसमेत आधाभन्दा बढी भाग कच्ची सडकको यात्रा गर्नुपर्छ । 

जिल्लामा ठुला अस्पताल र शैक्षिक संघ–संस्था नहुँदा धरान, विराटनगर वा काठमाडौं नै धाउनुपर्ने बाध्यता छ । तर, नियमित उडान नभएपछि यसको प्रभाव सबै क्षेत्रमा परेको छ । 

संखुवासभाका साथै छिमेकी जिल्ला भोजपुरका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालगायत आधाभन्दा बढी भागका मानिसलाई तुम्लिङटारबाटै विराटनगर र काठमाडौं जान नजिक पर्छ । यद्यपि, नियमित सेवा नपाउँदा यात्रु मर्कामा परेका छन् । 

हाल विमानस्थलमा निजी कम्पनी बुद्ध एयरको एटिआर ७२ सिटे जहाजले दैनिक उडान गर्दै आएको छ । यसअघि गुण एयरलाइन्स सञ्चालनमा रहे पनि अहिले बन्द छ । नेपाल वायुसेवा निगमको जहाजले तुम्लिङटार उडान गर्न बन्द गरेको लामो समय भइसकेको छ । 

सुझावित समाचार