कर्मचारीमाथि आक्रमण प्रकरण : रोहिणी र बन्दीपुर गाउँपालिकामा काम ठप्प

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यपालिका बैठकमै कर्मचारीमाथि आक्रमण भएको भन्दै विरोधमा उत्रिएका कर्मचारीले मंगलबार काम ठप्प पारेका छन् । 

सोमबारको बैठकमा हात हालाहालको स्थिति सिर्जना भएको थियो । शिक्षा समिति गठनका विषयमा विवाद भएपछि वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि भौतिक आक्रमण गरी घाइते बनाएको आरोप लगाएका कर्मचारीले दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै विरोधमा उत्रिएका हुन् । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि वडा नम्बर २ का अध्यक्ष करम हुसेन खानले हातपात गरेको कर्मचारीको आरोप छ । 

वडाध्यक्ष करम हुसेन खान

वडाध्यक्षले गालीगलौजसहित हातपात गरी घाइते बनाएको तथा बारम्बार कर्मचारीलाई गालीगलौज गर्ने गरेको भन्दै विज्ञप्ति जारी गरेका गाउँपालिकामा कार्यरत कर्मचारीले मंगलबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका छन् । दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने अडान लिएपछि मंगलबार जिल्ला प्रशासन कार्यालयमा छलफल पनि भएको थियो । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको उपस्थितिमा भएको छलफलमा कर्मचारीले आफ्ना अडान राखेका थिए । छलफलबाट कुनै निष्कर्ष नआएको भन्दै कर्मचारीले जिप्रकामा उजुरी दिएका छन् ।

सुरक्षाको प्रत्याभूति भई काम गर्ने वातावरण नभएसम्म काममा फर्कर्ने स्थिति नरहेको कर्मचारीको भनाइ छ । प्रजिअ घिमिरेले कर्मचारीसँगको छलफलमा सुरक्षाको चासो उठेको र घटनाको अनुसन्धान र दोषीमाथि कारबाहीको कुरा उठेकाले आवश्यक प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरीमा पठाएको बताए । सिडिओ कार्यालयमा वडाध्यक्षसहितका केही जनप्रतिनिधिले आफूहरूमाथि कर्मचारीबाट दुव्र्यवहार भएको कुरा पनि राखेका छन् ।

गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले मंगलबार विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि आक्रमण गर्ने वडाध्यक्ष खानलाई कारबाही गर्न माग गरेका छन् । वडाध्यक्ष खानले भने आफूले हातपात नगरेको दाबी गर्दैै आएका छन् । शिक्षा शाखा प्रमुखले पानीको बोतल हान्ने प्रयास गर्दा त्यसलाई रोक्न खोज्दा धक्काधक्की भएको जिकिर उनको छ । मेयर र शिक्षा शाखा प्रमुख मिलेर शिक्षा समिति बनाइएपछि विवाद भएको उनको भनाइ छ ।

अभद्र व्यवहारमा वडाध्यक्ष गुरुङलाई हिरासतमा राख्न दश दिन म्याद थप

वडाध्यक्ष बलबहादुर गुरुङ

बन्दीपुर गाउँपालिका– ६ का वडासचिव नवीन भुसाल कुटिएपछि बन्दीपुर गाउँपालिकामा दैनिक कामकाज ठप्प भएको छ । आफ्नो कर्मचारी कुटिएको विरोधमा मंगलबार कर्मचारीले सेवा प्रवाह ठप्प पारेका हुन् । सेवा प्रवाहकै क्रममा जनप्रतिनिधिबाटै असुरक्षित भएकाले कर्मचारीले काम ठप्प पारेको प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताए । ‘गाउँपालिकाको अत्यावश्यकबाहेक सम्पूर्ण सेवा ठप्प पारिएको हो,’ उनले भने ।

वडाध्यक्ष बलबहादुर गुरुङले सचिव कुटेपछि त्यहाँका अन्य कर्मचारीसमेत त्रसित भएका छन् । गाउँपालिकाका कर्मचारीले मंगलबार काम ठप्प पारेपछि सेवाग्राही मर्कामा परेका थिए । सचिव कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको थियो । पीडितले अभद्र व्यवहारमा जाहेरी दिएपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । ‘गुरुङविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालय तनहुँमा अभद्र व्यवहारमा उजुरी दिएपछि दश दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ,’ उनले भने । 

माघमा भएको तेस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिताको बिल स्वीकृत नगरेको भन्दै गुरुङले सोमबार बिहान कार्यालयमै भुसालको घाँटी अठ्याएर झापड हानेका थिए । कुटपिटपछि घाइते भएका कर्मचारी भुसाललाई बन्दीपुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । तर, बन्दीपुर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई भरतपुर अस्पताल पठाइएको हो । अहिले उनको अवस्थामा सुधार भएको प्रशासकीय अधिकृत आचार्यले बताए । कर्मचारी कुटिएको विरोधमा जिल्लाका अन्य स्थानीय तहका कर्मचारीले पनि विरोध जनाएका छन् ।

सुझावित समाचार