पर्सामा रोकिएन अवैध हुण्डी कारोबार,१५ दिनमा तीनजना पक्राउ

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

पर्सामा चालु आर्थिक बर्ष ०८१/०८२ को ७ महिनामा स्रोत खुलाउन नसकेको हुण्डी रकम सहित अहिलेसम्म तीन जना  पक्राउ परेका छन । चालु आवको गत माघ १७ देखि फागुन ४ गतेसम्म तीन जना हुण्डी रकम सहित पक्राउ परेको प्रहरीले जनाएको छ । 

पर्सा प्रहरीले फागुन ४ मा स्रोत नखुलेको १० लाख रुपैयाँ रकम सहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले भारतीय नागरिकलाई वीरगन्जको लिङ्क रोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक नेहाल कुमार रहेका छन् ।  उनको साथबाट स्रोत नखुलेको रकम बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै माघ २३ मा स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पटके हुन्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगन्ज महानगरपालिका १० आदर्शनगरबाट पर्सा बिन्दवासिनी गाउँपालिका–३ झौवा निवासी ४३ वर्षीय अजय कुमार साहको खल्तीबाट सात लाख रुपैयाँ बरामद गरेको हो । 

प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार आदर्शनगरमा चेकजाँच गर्ने क्रममा अजय साहले लगाएको सेतो ट्र्याकसुटको दुवै साइडको खल्तीमा लुकाइछिपाई राखिएको एक हजार दरका नोट सात सय थान फेला परेको हो । अजयलाई नियन्त्रणमा लिई हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान थालिएको प्रहरी प्रवक्ता समेत रहेका लम्सालले जानकारी दिए। यसअघि पनि अजय कुमार साह माथि जिल्ला प्रहरी कार्यालयले बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । साह पटके हुन्डी कारोबारमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ । यस्तै गत माघ १७ मा स्रोत खुलाउन नसकेको ६ लाख रुपैयाँ सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले वीरगन्जबाट भारत बिहारको रक्सौल १४ का २७ वर्षिय ओमकुमार रौनीयारलाई नियन्त्रणमा लिएको हो । वीरगन्जको आदर्शनगरबाट रौनियारलाई स्रोत खुलाउन नसकेको ६ लाख रुपैयाँसहित नियन्त्रणमा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । रक्सौलबाट वीरगन्ज आएका रौनियार सवार बीआर ०५ क्यु ४३८४ नम्बरको मोटरसाइकल आदर्शनगरमा प्रहरीले रोकेर चेकजाँच गर्दा मोटरसाइकलको लेगार्डमा झुण्ड्याइएको प्लाष्टिकको बोराबाट रकम बरामद भएको उनले बताए । 

पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने  कसूरमा थप अनुसन्धान कार्य भईरहेको लम्सालले बताए ।सिमावर्ती देश भारतको रक्सौल नाकाबाट दिनँहु अवैध रुपमा हुण्डी रकम भित्रिएको भएपनि प्रहरीले पक्राउ गर्नमा खासै चाँसो नदेखाएको प्रहरीको तथ्यांकले देखाएको छ । 

गत आवमा ११ जना हुण्डी कारोबारमा पक्राउ ?

पर्सा प्रहरीको तथ्यांक अनुसार गत आर्थिक बर्ष ०८०/०८१ को प्रत्येक महिनामा अवैध रुपमा हुण्डी कारोबार गर्दै आएका एकजना पक्राउ परेका छन । तर पर्साका तत्कालिन प्रमुख प्रहरी उपरिक्षक कुमोद ढुंगेलको कार्यकालमा चार जना मात्र हुण्डी कारोबारी पक्राउ परेका थिए । 

गत आर्थिक बर्षको चार महिना छाडेर चालु आर्थिक बर्षको ७ महिने कार्यकालमा एकजना पनि हुण्डी कारोबारमा पक्राउ नपरेको तथ्यांकमा उल्लेख छ । स्रोतका अनुसार प्रहरी र हुण्डी कारोबारीमा आर्थिक मिलोमतो भएका कारण पक्राउ नगरेको अवस्था हुन्छ । तत्कालिन प्रहरी उपरिक्षक ११ महिना कार्यकाल बिताएर गत माघ ११ मा सरुवा भएका थिए । उनको ठाँउमा अहिले प्रहरी उपरिक्षक गौतम मिश्र आएका छन । 

उनी गत माघ १४ मा जिम्मेवारी सम्हालेका छन । मिश्र आएको केहि दिनमै हुण्डी कारोबारी पक्राउ पर्न थालेका छन । हालसम्ममा तीनजना पक्राउ परेका छन । पछिल्लो १५ दिनको अवधीमा तीन जना हुण्डी कारोबारमा पक्राउ परेको प्रहरी तथ्यांकले देखाएको छ । 

गत आवमा ११ जना हुण्डी कारोबारमा पक्राउ परेका छन । जसमध्ये ७ जना माथी मुद्धा दर्ता भएको पर्साका प्रहरी नायब उपरिक्षक लम्सालले बताए । उनका अनुसार पक्राउ परेका मध्ये नेपाली ७ जना पुरुष , एकजना महिला र विदेशी नागरीक ३ जना रहेका छन । उनीहरुको साथबाट ६१ लख २४ हजार सात सय र भारतीय रकम ९८ हजार बरामद भएको उनले बताए । 
 

सुझावित समाचार