नेपालमा प्रजातन्त्र आगमनको ७५ वर्षको पूर्वसन्ध्यामा त्यही सन्दर्भ समेटिएको पुस्तक ‘सात सालको कथा’ लोकार्पण गरिएको छ। भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेखेको ‘नेपाली क्रान्ति–कथा’लाई तुलसी भट्टराईको अनुवादमा पब्लिकेसन नेपालयले ‘सात सालको कथा’का रूपमा बजारमा ल्याएको हो।
१०४ वर्ष पहिले भारतको बिहारमा जन्मेका लेखक फणीश्वरनाथ रेणु १०४ वर्ष लामो राणाशासनविरुद्धको नेपाली क्रान्तिमा सक्रिय सहभागी भएका थिए। त्यही आन्दोलनमा सहभागी भएर उनले रिपोर्ताज शैलीमा पुस्तक नै लेखे।
विराटनगरकै राजनीतिशास्त्री तथा रेणु अध्येता भास्कर गौतमले ‘सात सालको कथा’ पुस्तक लोकार्पण गर्दै रेणु यो देश र त्यो देश भनेर नछुट्याउने उदार मानवीय लेखक भएको बताए। ‘रेणुका हरेक सिर्जनामा मानवता र मुक्त अस्तित्व प्रखर रूपमा आएको हुन्छ,’ गौतमले भने, ‘माथि चुरेदेखि तल गंगासम्मको जनजीवन, प्रकृति र संस्कृतिलाई उनी साझा रूपमा हेर्ने दलीय–देशीय सोचभन्दा माथि उठेका लेखक हुन्।’
पुस्तकका अनुवादक तुलसी भट्टराईले रेणुको व्यापकता एउटा भाषा वा संस्कृतिको ज्ञानबाट मात्र बुझ्न नसकिने बताए। ‘नेपाली क्रान्ति–कथाले स्वतन्त्रता आन्दोलनको सजीव चित्र प्रस्तुत गरेकाले २५ वर्षअघि नै अनुवाद गर्दै छापेको थिएँ,’ अनुवादक भट्टराईले भने, ‘रेणु र बिपी कोइराला दुवै उदार भावनाले लेख्ने लेखक हुन्। यस पुस्तकले प्रजातन्त्र र स्वतन्त्रताको महत्त्व बढाउँछ।’
विराटनगरमा कोइराला परिवारमा हुर्के–बढेका रेणुलाई बिपी कोइराला आफ्ना भाइ नै ठान्थे। ‘हिन्दीका प्रख्यात साहित्यकार रेणु एकदमै आत्मीय बनेर हामीसँगै विराटनगर आए। हाम्रै घरमा बस्न थाले,’ रेणुको असामयिक निधन भएपछि बिपीले लेखेका छन्, ‘उनी २००७ को क्रान्तिमा होमिए। उनको क्रान्तिकारी प्रवृत्ति एवं अन्याय र दमनको विरोध गर्ने उग्रता मेरैजस्तो थियो। उनी मेरा साना भाइ थिए। साँच्चै उनी मेरै थिए।’
कोइराला दाजुभाइमध्ये तारिणीप्रसाद कोइरालाका सहपाठी र समवयी रेणुको पुस्तक तारिणी परिवारकै सदस्य इन्दिरा कोइरालालाई हस्तान्तरण गर्दै लोकार्पण गरिएको थियो। रेडियो नेपाल स्थापनापूर्व नै विराटनगरमा खुलेको प्रजातन्त्र रेडियोको कथामा रेणु र तारिणीको महत्त्वपूर्ण योगदान छ, जुन यस पुस्तकमा चित्रित छ।
धेरै पहिले नै छापिएको पुस्तकको सान्दर्भिकता अझ बढेको भए पनि बजारमा अप्राप्य रहेको महसुस गरेर आफूहरूले अनुवाद पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यको भनाइ छ। उनले भने, ‘प्रजातन्त्र आगमनको ७५औँ दिवसको सम्मुखमा विराटनगर जुट मिल, प्रजातन्त्र रेडियोसहित चलेको आन्दोलनको प्रमुख स्थान विराटनगरको इतिहासमा केन्द्रित पुस्तक छाप्न पाउनु हाम्रा लागि गौरवको विषय हो।’
जीवनभर स्वतन्त्रताको गीत गाउँदै लेखनमा सक्रिय रहेका फणीश्वरनाथ रेणुलाई भारतीय लेखकमध्ये निकै नै माथिल्लो श्रेणीमा राखिन्छ। १२० पृष्ठको ‘सात सालको कथा’ पुस्तकको मूल्य ३४५ रुपैयाँ रहेको छ। पुस्तक देशभरका प्रमुख पुस्तक पसल तथा थुप्रैडटकमबाट खरिद गर्न सकिनेछ। विश्वभरका पाठकहरूले अमेजनबाट पनि सोझै पुस्तक खरिद गर्न सक्नेछन्।