घरबासले जोगाउँदै मगर संस्कृति

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार । लमजुङको बेँसीसहर नगरपालिका– २ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जोकोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन्।

‘पाहुनालाई मीठो गरी सत्कारले खुवाउनुपर्छ,’ उनले अनुभव सुनाउँदै भनिन्, ‘बोलीवचन मीठो भए, खाना झनै स्वादिलो हुन्छ ।’ सावित्रीले घरबासमा व्यापार मात्रै गर्दिनन् । त्यससँगै आफ्नो समुदायको कला, संस्कृति र संस्कारको समेत प्रत्यक्ष-अप्रत्यक्ष रूपमा पहिचान झल्काउँछिन् ।
‘सेल रोटी पेटभरि
खाउँ है !
रैथाने चामलले बनाएको ।
केही हानि गर्दैन ।’

सावित्री हरेक परिकारको फाइदा र स्वादबारे प्रस्ट पार्छिन् । नरुवाल मगर घरबासमा केही साताअघि मात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पुगेका थिए । पुग्नुको प्रसंग बेग्लै थियो । तर, त्यहाँ मन्त्री गुरुङलाई गरिएको सत्कार र आत्मीयता अन्य अतिथिलाई जस्तै समान थियो ।

उही सालको पातका टपरीमा सेल, अचारलगायत परिकार खुवाएर मन्त्रीलाई स्वागत गरिएको थियो । सावित्रीले भनिन्, ‘घरबास जति मौलिक हुन सक्यो उति राम्रो हो ।’ सञ्चारमन्त्री गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उद्घाटन गरिएको नरुवाल मगर घरबास लमजुङ जिल्लाकै मगर समुदायले सञ्चालन गरेको पहिलो घरबास हो ।

लमजुङ बहुजाति, भाषाभाषी, संस्कृति र संस्कारले भरिएको जिल्ला हो । यहाँका थुप्रै समुदायले आ–आफ्नो कला र सभ्यता प्रदर्शन गरे पनि पर्यटन प्रवर्द्धनको मूल आधार बन्न सक्ने भन्दै मन्त्री गुरुङले मुख्यमन्त्री हुँदा घरबास सञ्चालन र प्रवर्द्धनमा जोड दिएका थिए । मन्त्री गुरुङका अनुसार गण्डकी प्रदेशमा ३१० र लमजुङ जिल्लाभर १२ वटा घरबास सञ्चालनमा छन् ।

‘लमजुङ घरबासले धानेको जिल्ला हो । यहाँका अधिकांशले कृषिसँगै घरबास सञ्चालन गर्दछन्,’ मन्त्री गुरुङले भने, ‘घरबासले एकातिर स्थानीय व्यवसायमा टेवा पुर्याउँछ भने अर्कोतिर यहाँको कला, संस्कृति र सभ्यताको संरक्षण गर्छ।’ मगरद्वारा सञ्चालित जिल्लाकै पहिलो घरबासका अध्यक्ष हेमबहादुर आलेले यो व्यवसायले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै रोजगारीको अवसर पनि सिर्जना गरेको बताए । सुरुमा १० घरले घरबास सञ्चालन गरेका भन्दै अहिले आयआर्जनको सम्भावना देखेर थप दुई घरमा पनि होमस्टे सञ्चालन भइरहेको उनले जानकारी दिए ।

आफ्नै गाउँघरमा बसेर खेतीपाती गर्दै दुई–चार पैसा आम्दानी गर्न सकिने हुँदा घरबास व्यवसाय लाभदायक रहेको हेमबहादुरले अनुभव सुनाए । मगर घरबासमा पर्यटक आउनुको अर्को कारण यहाँबाट देखिने हिमशृंखलाका दृश्यहरू हुन् । पछिल्लो समय हिमालको हिउँ घट्दै गएको र कालापत्थर देखिँदैन थालेको पर्यटन आकर्षण घट्ने हो कि भन्ने चिन्ताले सताउन थालेको घरबास सञ्चालक बताउँछन् ।

घरबासका अध्यक्ष हेमबहादुरले भने, ‘यो वर्ष हिउँ हराउँदै गएर टुप्पामा मात्रै थोरै देखिन थालेको छ ।’ बाल्यकालमा माथिसम्म हिउँ देखिने गरेको सम्झँदै उनले अब ती सबै दृश्य लोप हुने चिन्ता मनमा गढेको बताए । हेमबहादुरका अनुसार नरुवाल घरबासबाट अन्नपूर्ण, लमजुङ हिमाल, मनास्लु, गणेशलगायत पाँचवटा हिमालका दृश्य नियाल्न सकिन्छ । ‘अहिले जलवायु परिवर्तनको असरले बाक्लो हिमाल पग्लिँदै कालापत्थरमा परिवर्तन हुन थालेको छ । यसले गर्दा घरबास सञ्चालकमा त्यसको प्रत्यक्ष असरमा भोग्नुपर्ने चुनौती थपिएको छ,’ उनले भने ।

नरुवाल मगर घरबास यहाँका स्थानीय महिलाले धानेका छन् । घरबास सञ्चालक फूलमाया राना, सुनिता राना, सविना राना, पार्वती राना, मीना राना, दिलमाया राना, राममाया आले, संगीता आलेलगायत महिलाले संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका छन् । फूलमाया उमेरले पाकी छिन् । उनी घरबासमा पाहुनाको सत्कार गर्दा परम्परागत संस्कार र संस्कृतिमा जोड दिन रुचाउँछिन् । बारीमा फल्ने कोदो, मकै, चामल, यिनै परिकारले बनेका मगरका परम्परागत खानपान पस्किन उनी निकै सिपालु छिन् । मीना रानाको घरबासमा आउने पाहुना प्रायः लोकल कुखुरा र ढिँडो खाने हुन्छन् ।

बेँसीसहर नगरपालिका– २ का वडाध्यक्ष मदनबहादुर रानाका अनुसार वडामा मगर समुदायको अर्गानिक खानपान र कला संस्कृति मुख्य आकर्षण हो । ‘लमजुङमा केही पर्यटकीय स्थान छन् । यहाँ ऐतिहासिक पाथीभरा मन्दिर छ । ढुंगैढुंगाको परम्परागत ढुंगे डाँडो छ। ऐतिहासिक ढुंगे धाराहरू छन् । एक किलोमिटर जति लामो चिप्लेटे ढुंगाले बनेको परम्परागत चिप्लेटे खोलाले पनि पर्यटकलाई आकर्षित गर्छ,’ उनले भने । वडाध्यक्ष रानाका अनुसार लोप हुँदै गएको मगर समुदायको भेजा प्रथा यहाँ अझै पनि संरक्षित छ । साथै मगर समुदायको कौटा, झाम्रे नाच र वेशभूषा मुख्य आकर्षण रहेका उनले जानकारी दिए । रासस

सुझावित समाचार