फोर नेसन्स कप : किर्गिस्तानविरुद्ध नेपाललाई फिनिसिङमै समस्या

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण
फोर नेसन्स कप : किर्गिस्तानविरुद्ध नेपाललाई फिनिसिङमै समस्या

किर्गिस्तानविरुद्ध गोल गर्ने प्रयासमा घरेलु खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

  • फिफा महिला वरीयतामा आफूभन्दा २५ स्थान तल रहेको किर्गिस्तानविरुद्ध नेपाल १–० ले विजयी

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फोर नेसन्स कप फुटबल प्रतियोगितामा किर्गिस्तानविरुद्ध १–० को झिनो अन्तरले जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा बल पोसेसन ५२ प्रतिशतभन्दा बढी राखेको नेपालले फिनिसिङमा कमजोर प्रदर्शन गर्दा जित अन्तर फराकिलो बनाउन नसकेको हो । नेपाललाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा एक मात्र निर्णायक गोल विमला चौधरीले गरेकी थिइन् । फिफा वरीयतामा आफूभन्दा २५ स्थान तल रहेको किर्गिस्तानलाई हराउन नेपालले निकै मिहिनेत गर्नुपरेको थियो । 

खेलको दसौँ मिनेटमा एक मात्र गोल निस्किएको थियो । सविता रानामगरले दायाँ कर्नर भागबाट निकालेको क्रसमा विमलाले डिबक्सभित्र हेडिङ गोल गरेकी हुन् । खेलको सुरुमै विमलको गोलसँगै सात हजारभन्दा बढी घरेलु खुसी भए । तर, पहिलो तथा दोस्रो हाफमा बारम्बार फिनिसिङमा चुकिरहँदा समर्थक निराश बनेका देखिन्थे । प्रतिस्पर्धामा फाइनल थर्डमा नेपालले राम्रो गर्न सकेन । 

सुरुवातको प्लेइङ ११ मा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपालकै नम्बर एक स्ट्राइकर सावित्रा भण्डारीलाई राखेनन् । सावित्रा सोमबार बिहान मात्र फोर नेसन्स कपमा सहभागी हनु फ्रान्सबाट स्वदेश फर्किएकी थिइन् । सुरुका प्लेइङ ११ का फिनिसरहरूले गोल निकाल्न नसकेपछि तामाङले थकान मेटाउन नपाएकी सावित्रालाई दोस्रो हाफमा मैदान पठाएका थिए । 

सावित्राको आगमनसँगै नेपालको अगाडिका खेलाडी सशक्त देखिए पनि किर्गिस्तानको पोस्टमा एक गोल पनि खेलाडीले थप्न सकेनन् । सावित्रासँगै सविता रानामगर, रेखा पौडेल र रश्मिकुमारी घिसिङले निरन्तर रूपमा अवसर खेल फालेका थिए । अन्तर्राष्ट्रिय फुटबलमा यी दुईबिच दोस्रोपटक प्रतिस्पर्धा भएको हो । 

सन् २०१९ मा नाजेदा कपमा नेपालले किर्गिस्तानमाथि ८–२ को सानदार जित निकालेको थियो । सो खेलमा सावित्रा भण्डारीले चार र अनिता बस्नेतले दुई गोलका थिए । त्यसवेला किर्गिस्तानको पोस्टमा गोल गरेका दीपा राई र निरु थापाले सन्न्यास लिइसकेका छन् । 

प्रशिक्षक तामाङले किर्गिस्तानविरुद्धको खेलमा डिफेन्डरमा गीता रानालाई निशा थोकर, पूजा राना र विमला विकलाई जिम्मेवारी दिएका थिए । निशाले पहिलोपटक राष्ट्रिय टोलीको प्लेइङ सेटबाट खेल्ने अवसर पाइन् । 

मिडफिल्डमा पूर्वकप्तान रेनुका नगरकोटेलाई प्रीति राई, सविता रानामगर र विमलाले साथ दिएका थिए । राष्ट्रिय महिला लिगमा सर्वाधिक ३५ गोल गरेकी रश्मिकुमारी घिसिङ र युएईमा व्यावसायिक फुटबल खेलिरहेकी रेखा पौडेलले स्ट्राइकिङको अभिभारा पाएका थिए । स्ट्राइकर सावित्रा सुरुमा बेन्चमै रहिन् । 

किर्गिस्तानको एक मात्र मुभ
प्रतिस्पर्धामा किर्गिस्तानले एक मात्र अवसर निकाल्यो । खेलको ५५औँ मिनेटमा किर्गिस्तानले डरलाग्दो काउन्टर अट्याक्ट बुनेको थियो । किर्गिस्तानका खेलाडीले प्रहार गरेको बललाई नेपालकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाले बक्सभित्रबाट क्लियर गरेकी थिइन् । यसबाहेक किर्गिस्तानका खेलाडी आफ्नो डिबक्स क्षेत्रमै नेपालको गोल प्रयासलाई विफल बनाउनमै व्यस्त देखिए । 

खेलको २१औँ मिनेटमा नेपालले राम्रो अवसर चुकाएको थियो । सविताको पासमा रश्मिले सिक्स यार्ड बक्समा पाएको बललाई ढिलो प्रहार गरेपछि किर्गिस्तानकी डिफेन्डरले क्लियर गरिन् । खेलको २९औँ मिनेटमा रेखाले डिबक्सभित्रबाट हानेको बल किर्गिस्तानकी गोलरक्षक अविदुला किजीले सहजै नियन्त्रणमा लिइन् । पहिलो हाफको इन्जुरी समयमा नेपाल गोल गर्नबाट चुक्यो । रश्मि र सविताले लगातार गरेको प्रहार बल क्रसबारमा लागेर फर्किएको थियो । खेलको ८१औँ मिनेटमा किर्गिस्तानका डिफेन्डरले फुत्काएको बललाई सविताले बक्सभित्र फिनिसिङ गर्न सकिनन् । 

खेलाडीले रणनीति नै बुझेनन् : राजेन्द्र तामाङ, प्रशिक्षक, नेपाल
हामीले खेल जित्यौँ । पहिलो हाफमा धेरै अवसर पाउँदा एक गोल मात्रै भयो । दोस्रो हाफमा फरक रणनीति बनाएका थिए । तर, खेलाडीले आफ्नो स्थान बुझेनन् । हामीलाई जसरी पनि जित निकाल्दै तीन अंक जोड्नु थियो । यो योजनामा हामी सफल भयौँ । खेलमा खेलाडीले रणनीति बुझ्नुपर्छ, तर उनीहरूलाई बुझाउन नसक्नु मेरो गल्ती हो । रेखा एक दिन र सावित्रा सोमबारै मात्रै आउँदा अट्याकमा तयारी राम्रो भएन । प्रीति, रेणुका र सविताले मिडफिल्डबाट राम्रो पास निकाले, तर सावित्रा र रेखाले बुझेनन् । किर्गिस्तान डिफेन्सिभ हुँदा झनै गाह्रो भयो । सावित्रालाई अर्को खेलका लागि सहज गरिएको हो । उसलाई सोधेर खेलाएको हो । 

नेपालविरुद्ध राम्रो खेल्यौँ : जाकिरोभ, प्रशिक्षक, किर्गिस्तान 
नेपालविरुद्ध हाम्रा लागि निकै गाह्रो खेल भयो । नेपाल टिम निकै राम्रो छ । उनीहरूको खेल तीव्र गतिको छ । घरेलु खेलाडीको फिटनेस राम्रो छ । हाम्रो टिम प्रतियोगिताकै युवा हो । फोर नेसन्स प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने प्रयासमा छौँ । यद्यपि, पहिलो खेलमा हामीले नेपालविरुद्ध राम्रो खेलेको भन्नुपर्छ । ६ वर्षको तुलनामा यसपटक नेपालविरुद्ध हामीहरूको स्तर बढेको अनुभव भएको छ । 

See More On

सुझावित समाचार