चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो सात महिनामा सेयर र घरजग्गा कारोबारबाट सरकारलाई ३५ अर्ब ५८ करोड ८७ लाख पुँजीगत लाभकर प्राप्त भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) र भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त छुट्टाछुट्टै तथ्यांकले यस्तो देखाएको हो । यो राजस्व गत आवको सोही अवधिको तुलनामा ४५.१४ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा २४ अर्ब ५१ करोड ८७ लाख यस्तो राजस्व उठेको थियो । गत आवभरमा भने सेयर र घरजग्गा कारोबारबाट ४७ अर्ब ५२ करोड नौ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको देखिन्छ ।
सेयर कारोबारबाट १०.८७ अर्ब राजस्व
सात महिनामा सेयर कारोबारबाट १० अर्ब ८७ करोड ८६ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको छ । यो गत आवको सोही अवधिको तुलनामा २८० प्रतिशतले धेरै हो । गत आवको पहिलो सात महिनामा दुई अर्ब ८६ करोड ५९ लाख रुपैयाँ यस्तो राजस्व उठेको थियो । गत आवभरमा भने पाँच अर्ब ५० करोड ७७ लाख रुपैयाँ यस्तो पुँजीगत लाभकर उठेको थियो । चालू आवको सात महिनामै गत आवको भन्दा पनि धरै कर संकलन भएको छ ।
सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले कारोबार रकम र बजारमा आएको वृद्धिले राजस्व संकलन बढेको बताए ।तथ्यांकअनुसार साउनमा चार अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ, भदौमा दुई अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपैयाँ, असोजमा ५८ करोड ६५ लाख ४० हजार रुपैयाँ र कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार रुपैयाँ यस्तो कर उठेको छ । यस्तै, मंसिरमा एक अर्ब चार करोड ६ लाख २३ हजार रुपैयाँ, पुसमा ५८ करोड सात लाख ८५ हजार रुपैयाँ र माघमा एक अर्ब पाँच करोड ७० लाख रुपैयाँ यस्तो कर उठेको छ ।
सेयर कारोबारमा हुने खुद नाफामा दीर्घकालीनतर्फ ५ प्रतिशत र अल्पकालीनतर्फ ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । कुनै लगानीकर्ताले सेयर किनेर एक वर्षपछि बिक्री गर्दा हुने नाफामा ५ प्रतिशत कर तिर्नुपर्छ । यसैगरी, लगानीकर्ताले सेयर किनेको एक वर्षभित्र बिक्री गर्दा हुने नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । सेयर कारोबार गर्दा घाटा भएमा कर तिर्नुपर्दैन । सिडिएससीले सेयर कारोबारबाट सरकारलाई जाने राजस्वको एकीकृत तथ्यांक राख्ने गर्छ ।
घरजग्गा कारोबारबाट पौने २५ अर्ब राजस्व
समीक्षा अवधिमा घरजग्गा कारोबारबाट भने करिब पौने २५ अर्ब राजस्व उठेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा यस्तो कारोबारबाट उठ्ने राजस्व १४.११ प्रतिशतले बढेको छ ।
गत आवको सोही अवधिमा भने घरजग्गा कारोबारबाट २१ अर्ब ६५ करोड २८ लाख रुपैयाँ यस्तो राजस्व उठेको थियो । गत आवभर भने ४२ अर्ब एक करोड ३२ लाख रुपैयाँ यस्तो राजस्व उठेको विभागको तथ्यांकमा उल्लेख छ ।
कति भयो घरजग्गा कारोबार ?
सात महिनामा देशभर दुई लाख ७८ हजार दुई सय ७८ घरजग्गा कारोबार भएका छन् । गत आवको सोही अवधिमा भने दुई लाख ७८ हजार नौ सय २३ वटा यस्ता कारोबार भएका थिए । गत आवको पहिलो सात महिनाको तुलनामा घरजग्गा कारोबार केही कम देखिएको छ । गत आवमा नेपालभर पाँच लाख ३७ हजार दुई सय ९५ वटा घरजग्गा कारोबार भएका थिए ।
समीक्षा अवधिको साउनमा ४३ हजार आठ सय ३५, भदौमा ३२ हजार सात सय ८९ र ३० हजार पाँच सय २७ वटा यस्ता कारोबार भएका थिए । कात्तिकमा भने ३३ हजार पाँच सय १४ वटा घरजग्गा कारोबार भएका थिए । यस्तै, मंसिरमा ४३ हजार तीन सय ७९, पुसमा ४८ हजार एक सय ५६ र माघमा ४६ हजार ६९ वटा घरजग्गा कारोबार भएका छन् ।