भद्रपुर झापा गोल्डकप : सिँगारियो मेची रंगशाला

७ देखि १६ फागुनसम्म हुने गोल्डकपमा नेपाल, भारत र बंगलादेशका गरी १० टोलीले प्रतिस्पर्धा गर्ने

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण
भद्रपुर झापा गोल्डकप : सिँगारियो मेची रंगशाला

झापा गोल्डकपका लागि फेरिएको मेची रंगशाला । तस्बिर : नयाँ पत्रिका ।

झापाको इतिहास बोकेको रंगशाला हो मेची रंगशाला । ०२५ सालमा निर्माण भएको मेची रंगशाला कुनै समय नाम चलेको रंगशाला थियो । यहाँ भारत, बंगलादेश र नेपाललगायत चर्चित खेलाडीले खेल खेले । चार दशकअघि सुरु भएको त्रिभुवन गोल्डकप ०६१ सालपछि हुन छाड्यो । कुनै गतिविधि नभएपछि रंगशाला जर्जर बन्यो । यसमा राज्यले संरक्षणमै चासोमा देखाएन । 

दुई वर्षदेखि मेची रंगशालाको चमक फर्किएको छ । ०७९ फागुनमा भद्रपुर झापा गोल्डकप यसै रंगशालामा भयो, त्यसपछि यसले आफ्नो इतिहास ब्युँझाएको छ । गोल्डकपपछि रंगशालामा खेलकुदका गतिविधि भए । रंगशाला जीर्णोद्धारका लागि आयोजक समिति गठन भयो । ७ फागुनदेखि दोस्रो भद्रपुर झापा गोल्डकप हुँदै छ । प्रतियोगिताका लागि जीर्ण भएका पक्की संरचनालाई रंगरोगन गरिएको छ । मैदानको घाँसले पनि यसको चमक बढाएको छ । ‘यस वर्ष हामीले एकदम आकर्षक रंगशाला बनाएका छौँ, रंगशालालाई बेहुलीझैँ सिँगारेका छौँ,’ गोल्डकपका अध्यक्ष दीपेश ढकालले भने, ‘यस गोल्डकपलाई मोफसलकै प्रतिष्ठित बनाउन पाउँदा खुसी छौँ ।’ इतिहास बोकेको मेची रंगशालाको स्तरोन्नति खाँचो भएको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले बताए ।

‘भद्रपुर झापा गोल्डकपलाई सफल बनाउन नगरपालिकाले सहयोग गर्छ । मेची रंगशालाको स्तरोन्नति गर्नैपर्नेछ,’ पोखरेलले भने, ‘रंगशालाको मैदानको छेउमा ट्र्याक नहुँदा एथलेटिक्सका खेल हुन सकेको छैन । यहाँ ट्र्याक आवश्यक छ ।’ नगरपालिकाले मात्र एथलेटिक्स ट्र्याक राख्न नसकिने बताउँदै उनले प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए । 

गोल्डकपको तयारी पूरा
७ देखि १६ फागुनसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको सोमबार पत्रकार सम्मेलनमा गोल्डकपका महासचिव जीवन श्रेष्ठले बताए । उनका अनुसार २० हजार दर्शक अट्ने गरी पारापिट निर्माण भएको छ । नेपालसहित भारत, भुटान र बंगलादेशका दश टोलीले सहभागिता जनाउने श्रेष्ठले जानकारी दिए । घरेलु टोली भद्रपुर ब्लेजर्स, झापा–११, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र, नेपाल पुलिस, न्यु रोड टिम(एनआरटी), एपिएफ, दार्जिलिङ, ट्रान्सपोर्ट युनाइटेड भुटान र बंगलादेशको काउर्न बाजार प्रगति संघले प्रतिस्पर्धा गर्नेछन् । 

विजेताले १३ लाख पाउने 
गोल्डकपको विजेताले १३ लाख र उपविजेताले सात लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पाउने महासचिव श्रेष्ठले बताए । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २१ हजार रुपैयाँ दिइनेछ ।
 

सुझावित समाचार