कुनै समय थियो प्रहरी रिपोर्टका लागि फारम भरेर बुझाउन मात्र घन्टौँ लाइन बस्नुपर्थ्यो। लिनका लागि त्यतिकै हैरानी। निश्चित प्रहरी कार्यालयबाट मात्र यो सुविधा थियो। तर, अहिले प्रहरीको यो सेवा फेरिएको छ। अनलाइनबाट फारम भरेर एकैदिनमा पुलिस रिपोर्ट पाइने भएको छ।
प्रहरी प्रधान कार्यालयले जनशक्ति र स्रोतसाधनलाई विस्तार गरी एकैदिनमा रिपोर्ट दिने व्यवस्था गरेको हो। त्यसका लागि प्रहरी कार्यालयसमेत धाउनुपर्दैन। ‘केही महिनाअघिसम्म तीन दिन लाग्थ्यो,’ प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआइजी कुवेर कडायतले सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा भने, ‘अहिले २४ घन्टाभित्रै पुलिस रिपोर्ट दिन थालेका छौँ, अत्यावश्यक अवस्थामा ५/६ घन्टाभित्रै समेत दिने गरेका छौँ।’
प्रहरीमा पुलिस रिपोर्टका लागि दैनिक दुई हजारदेखि दुई हजार पाँच सय अनलाइन आवेदन पर्ने गरेका छन्। उनीहरूविरुद्ध प्रहरीमा अपराधको मुद्दा रहेको-नरहेको जाँच गरी प्रहरीले इमेलमै रिपोर्ट पठाउने गरेको छ। २०७६ सालदेखि नै पुलिस रिपोर्ट अनलाइन भएको थियो। तर, प्रमाणीकरणका लागि धेरै चाप हुने भएकाले केही दिन कुर्नुपर्ने अवस्था थियो। चालचलन शाखामा हाल जनशक्ति थपेर यो सेवालाई सहज र छरितो बनाइएको एआइजी कडायतले बताए। पुलिस रिपोर्टसम्बन्धी सेवा प्रहरीले निःशुल्क दिँदै आएको छ।
अनलाइन सेवा सुरु भएदेखि २०७६ को असोजयता ३४ लाखलाई पुलिस रिपोर्ट प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।