विराट गोल्डकपको नवौँ संस्करण १९ फागुनदेखि

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

विराटनगरमा हुँदै आएको विराट गोल्डकपको नवौँ संस्करण १९ फागुनदेखि सुरु हुने भएको छ। गोल्डकपका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार ट्रस्टको बैठकले यस वर्षको टुर्नामेन्ट आयोजना गर्न उद्योगी नवीन रिजाललाई संयोजक तोकेपछि तयारी सुरु भइसकेको छ।

अध्यक्ष शाहीका अनुसार नौ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १० वटा टिमको सहभागिता हुनेछ। विराटनगरनिवासी उद्योगी रिजालले २०७४ सालमा पनि विराट गोल्डकपको संयोजक भएर सफलतापूर्वक प्रतियोगिता सम्पन्न गराएका थिए।

रिजालले पहिलोपटक बाँसको फ्लडलाइट राखेर  रात्रिकालीन विराट गोल्डकप सञ्चालन गराएका थिए। त्यसपछि मात्र विराटनगरको सहिद रंगशालामा विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले स्थायी फ्लडलाइटको व्यवस्था गरेका थिए।

रिजालकै नेतृत्वमा विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रात्रिकालीन गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएपछि कोशी प्रदेशका अन्य जिल्लाहरूमा पनि रात्रिकालीन फुटबल प्रतियोगिताहरू हुन थालेका थिए।

हरेक दिन दर्शकबाटै ‘मिस विराट गोल्डकप’ घोषणा हुने
आयोजकका अनुसार विराट गोल्डपको नवौँ संस्करणमा हरेक दिन ‘मिस विराट गोल्डकप’ घोषणा गरिनेछ। संयोजक रिजालका अनुसार प्रतियोगिता हेर्न आएका दर्शकहरूबाटै खेलप्रति दर्शकलाई उत्प्रेरित गराउन हरेक विशेष सम्मानका साथ मञ्चमा क्राउन र फ्ल्याससहित सम्मान गरी आसनग्रहण गराइनेछ।

रिजालका अनुसार त्यसका लागि छनोट समितिसमेत गठन गरिएको छ। २०१८ सालमा महेन्द्र गोल्डकपका रूपमा विराटनगरमा स्थापना भएको गोल्डकपलाई २०६८ सालमा नाम परिवर्तन गरी विराट गोल्डकप राखिएको थियो।

सुझावित समाचार