हुलाक टिकटमा रैथाने र लोपोन्मुख कलासंस्कृति पनि समेटिनुपर्छ : मन्त्री गुरुङ

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत लोपोन्मुख, रैथाने र परम्परागत कला–संस्कृतिको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

हुलाक सेवा विभागले सप्ताहव्यापी रूपमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा मन्त्री गुरुङले विभागले आवश्यक परेको खण्डमा ऐतिहासिक विषयवस्तु खोजेर टिकट प्रकाशन गर्नुपर्ने बताए ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई यसले देशको पहिचान र इतिहासलाई सधैँ जगेर्ना गर्ने दस्ताबेज रहेको बताए । मन्त्री गुरुङले समाजका रैथाने मूल्यमान्यता, जीवनशैली, पर्यटनलाई प्रवर्द्धन गर्ने खालका विषयवस्तुसमेत हुलाक सेवा आफैँले पहिचान गरी छाप्नुपर्ने बताए ।

उनले हुलाक सेवालाई समयसापेक्ष आधुनिकीकरण गर्न मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै जनसेवामुखी भएर हुलाक सेवामा काम गर्न कर्मचारीलाई आग्रह गरे । साथै उनले हुलाक कार्यालयलाई आवश्यक बजेट व्यवस्थापन गर्न मन्त्रालय तयार रहेकोसमेत बताए ।

कार्यक्रममा मन्त्री गुरुङले नयाँ हुलाक टिकट ‘पञ्चमार्क मुद्रा’ र ‘भित्रीकोट दरबार’ टिकटको आवरणमा टाँचा प्रदान गरे । भगवान् गौतम बुद्धको राजप्रासाद रहेको प्राचीन कपिलवस्तु तिलौराकोटको खोज–अनुसन्धान गरी जमिनबाट उत्खनन गरिएको ऐतिहासिक ‘पञ्चमार्क मुद्रा’ हो । साथै प्युठान जिल्लास्थित ‘भित्रीकोट दरबार’ नेपाल बाइसे र चौबिसे राज्यमा विभाजित रहेको समयमा चौबिसे राज्यअन्तर्गतको शक्तिशाली राज्य थियो ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले हुलाक टिकटको ऐतिहासिक महत्त्व दर्शाउँदै विभागले पुरातात्त्विक महत्त्व राख्ने विषयवस्तु खोजेर टिकट बनाउनेतर्फ कार्ययोजना बनाउँदै गरेको बताइन् । ‘यस्ता कैयौँ रोचक र ऐतिहासिक खोजमूलक विषयवस्तु छन्, जुन टिकटमा समावेश गर्न सकिन्छ,’ उनले भनिन्, ‘विभाग आफैँ पनि अनुसन्धान गर्ने तयारीमा छ ।’

सुझावित समाचार