सुत्केरी आमाछोरीको बिचल्ली, आमाछोरी आश्रय केन्द्रमा, आरोपित बुबा प्रहरीमा

१९ दिनमा संस्थाले नै गर्दियो बच्चाको न्वारन

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

धार्मिक मान्यताअनुसार बच्चा जन्मिएको ११ दिनमा न्वारान अर्थात् नामकरण गरिन्छ । गुल्मीको अमरकल्याण बहुउद्देश्यीय सहकारी संस्थामा रहेको बच्चाको भने १९ दिनमा न्वारान गरिएको छ । त्यसमा पनि संस्था स्वयंले न्वारानको व्यवस्थापन गरेको छ ।

आमा पनि न्वारानमा सहभागी बनिन् । बच्चा गुल्मी अस्पताल तम्घासमा धुर्कोटकी ३२ वर्षीया युवतीले १६ माघमा छोरी जन्माएकी थिइन् । माइतबाट पेट दुखेर अस्पताल आएकी युवतीले एक्कासि बच्चा जन्माएपछि घरका र माइती पक्ष सवै छक्क परे । किनकि बच्चा अर्कै युवकको गर्भधारणबाट जन्मिएको थियो । उनको घरमा श्रीमान् र छोरा छन् । युवकको घरमा पनि श्रीमती र छोरा छन् । आरोपित धुर्कोट गाउँपालिका– २ का २९ वर्षीय दीपेश जिसीविरुद्ध बलात्कार मुद्दा  दर्ता भएको छ । उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । 

अमरकल्याण भन्छ– स्राेत छैन, सहजीकरण पनि कतैबाट भएन

१६ माघमा बच्चा जन्माएकी युवती तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भइन् । माइती र घर दुवैतिर सुत्केरी आमा र छोरीको जाने अवस्था देखिएन । जसका कारण १९ माघबाट आमाछोरी अमरकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको आश्रयमा छन् ।

युवतीले गर्भावस्थामा हुने गर्भजाँचसमेत गरिनन् । पाँच–छ महिनासम्म नियमित महिनावारी नहुने र श्रीमान् पनि घरमै भएकाले बच्चा रहेको पत्तै नहुँदा समस्या भएको बताइन् । उनले गल्ती महसुस गरेर घरमै फर्किने चाहना थियो । तर, सोचेअनुसार सजिलो थिएन । उनको र बच्चाको अवस्था अहिलेसम्म सामान्य रहेको छ । आठ महिनामा बच्चा जन्मिएको हो । माइतमा न्वारान नहुँदै जान नमिल्ने धार्मिक कारण र घरमा अर्कैको गर्भका कारण स्वीकार नभएपछि आफूहरूले सहकारीको आश्रयमा ल्याएर व्यवस्थापन गरेको अमरकल्याण बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक अञ्जु पन्थीले बताइन् ।

बच्चा जन्मिएको ११औँ दिनमा धार्मिक कारण नामकरण हुने दिन हो । तर, न्वारान हुनसमेत सकेन । आफूहरूले सिडिओ, एसपी र धार्मिक गुरुहरूसँग सल्लाह गरे पनि ठोस जवाफ कतैबाट नआएकाले न्वारान गर्न नसकिएको पन्थीले बताइन् । माघ १९ गतेबाट सबै सुत्केरी स्याहारको काम अमरकल्याणले गरेको छ । उनका लागि एकजना सुसारेको व्यवस्थापन गरिएको छ । खानपान, लुगा धुने, बच्चा हेर्ने, चिसोतातो सबै व्यवस्थापन आश्रस्थलमा रहेको छ । धार्मिक आस्थाका आधारमा ६ दिनमा गर्ने काम पनि गरिएको व्यवस्थापक पन्थीले बताइन् ।

संस्थाले अस्पतालमा अलपत्र रहेकी सुत्केरी र बच्चाको उद्धार गरेर आजसम्म व्यवस्थापन गरे पनि अब आफूहरूसँग आर्थिक स्राेत नभएकाले अप्ठ्यारो परेको अमरकल्याण बहुउद्देश्यीय सहकारी संस्थाकी संस्थापक सदस्य लक्ष्मी पाण्डेयले बताइन् । उनले विभिन्न चरणमा संस्थाको आश्रय केन्द्रलाई स्राेतसाधनको जोहो गर्न जिल्लास्तरमा छलफल गरे पनि कसैले चासो नदिएको बताइन् । ‘निःस्वार्थ संस्थाको आफ्नै लगानीमा आश्रय केन्द्र चलाएका छौँ । सहयोग र हौसला कतैबाट छैन, बरु आलोचना खेपेका छौँ,’ उनले भनिन्, ‘विनास्राेतसाधन राज्यको सबै काम सँधै गर्न सकिने रहेनछ ।’

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय गुल्मीमा आरोपित जिसविरुद्ध बलात्कार मुद्दा दर्ता गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किरण दाहालले जानकारी दिए । दाहालले आरोपितकै बच्चा भए–नभएको ठुलो भएपछि डिएनए परीक्षणबाट प्रमाणित भएपछि मात्रै आवश्यक अधिकार प्राप्त हुने बताए । ‘मुद्दाकै कारण उसकै बच्चा भन्ने कुरा भएन । ठुलो भएपछि डिएनए गरेर प्रमाणित भए बुबा स्थापित हुने र कानुनअनुसार सबै पाउँछ,’ उनले भने, ‘अहिले आमाबच्चाको व्यवस्थापन गर्नुपर्छ ।’ 

नौ वर्षदेखि आश्रय दिँदै अमरकल्याण

जिल्लामा संरक्षण गृह (सेफ हाउस) छैन । अमरकल्याणले घरेलु हिंसामा परेका, बलात्कारपीडित, अंश मुद्दा, बेवारिसे अवस्थामा भेटिएका व्यक्तिलाई आश्रय र उचित मार्ग प्रदान गर्ने काम गरिरहेको छ । इस्मा गाउँपालिकाकी २२ वर्षीया घरेलु हिंसापीडित युवती दुईपटक अमरकल्याणको आश्रयमा बसिन् । प्रेम सम्बन्धबाट बिहे भएको केही समयमै घरमा खटपट भयो । श्रीमानको हिंसा सहन नसकेर पीडितले प्रहरीमा उजुरी गरिन्, अमरकल्याणको आश्रयमा चार दिन बसिन् । मिलापत्र भएपछि घर गएर छोराछोरी पनि भए । फेरि हिंसा भएपछि अहिले कानुनी उपचारको काम अगाडि बढेको छ ।

त्यस्तै, मुसिकोट नगरपालिकाकी ३८ वर्षीया महिलाका दुई छोरा र एक छोरी छन् । श्रीमानको कोभिडको वेला ज्यान गयो । उनको नागरिकता छैन । तर, परिवारले अर्कैसँग बिहे गरेको आरोप लगाएर नागरिकता दिँदैनन् । ०८१ पुस १२ गतेदेखि १५ गतेसम्म अमरकल्याणको आश्रयमा बसेर कानुनी उपचार खोजे पनि केही टुंगाे लागेन । धुर्कोट गाउँपालिकाकी २५ वर्षीया युवतीका दुई बच्चा छन् । श्रीमानले अर्कैसँग सम्बन्ध राखेर आफूहरूको कुनै वास्ता नगरेकाे उनकाे आराेप छ।

कैयौँपटक छलफलको प्रयास असफल भए । उनलाई माइतमै बसेर छोराछोरीको व्यवस्थापन गर्न मुस्किल परिरहेको छ । ०८१ असोज १६ देखि २२ गतेसम्म अमरकल्याणको आश्रयमा बसेर प्रहरीमा कानुनी उपचारको विकल्पहरू खोजिन् । तर, अहिले पालिकास्तरमा मिलापत्रको प्रयास भइरहेको छ । आफूहरूको काम अस्थायी रूपमा व्यवस्थापन गर्ने र न्यायको उचित मार्गमा सहजीकरण भए पनि महिनौँ हिंसापीडितको पछि कुद्न पर्ने अवस्था रहेको अमरकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष गीता पाण्डेयले बताइन् । 

सुझावित समाचार