नेपाल विद्युत् प्राधिकरणले यो वर्षसँगै लगातार तेस्रोपटक ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरूलगायतको विश्लेषण गरी रेटिङ गरिएको हो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । त्यस्तै, वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्यांकन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत तीन वर्षदेखि निरन्तर डबल ए प्लस रेटिङ प्राप्त गर्न सफल भएको र यसबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो एवं ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको बताए । ‘सर्वसाधारणलाई सेयर निष्कासनका लागि महत्वपूर्ण मापदण्डका रूपमा रहेको संस्थाको रेटिङ सम्पन्न भइसकेको छ, संस्थाको वास्तविक सम्पत्ति मूल्यांकन गरिसकेका छौँ, सरकारबाट स्वीकृति पाउनासाथ सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन सकिनेछ, सेयर निष्कासनबाट संकलन गरिएको रकमलाई ठुला जलविद्युत् आयोजनाको निर्माणमा लगानी गर्ने योजना बनाएका छौँ,’ उनले भने ।
प्राधिकरणको चुक्ता पुँजी करिब तीन खर्ब कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन प्रस्ताव गरिएको छ । प्रिमियमसहित प्रतिकित्ता मूल्य करिब तीन सय रुपैयाँ कायम गरी सेयर निष्कासनको प्रस्ताव गरिएको हो । प्राधिकरणको वार्षिक आम्दानी एक खर्ब १६ अर्ब र सम्पत्ति सात खर्बभन्दा बढी छ ।
त्यो हुँदा विद्युत् प्राधिकरणले प्रिमियमसहित एक खर्ब ८० अर्ब रुपैयाँबराबरको आइपिओ निष्कासन गर्ने देखिन्छ । तीन खर्ब चुक्ता पुँजीको २० प्रतिशत रकम ६० अर्ब हुनेछ । प्राधिकरणको सेयरको प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ हुनेछ । त्योअनुसार ६० करोड कित्ता आइपिओ बिक्री गरिनेछ । त्यसमा दुई सय रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता तीन सय रुपैयाँ सेयर बिक्री गर्ने तयारी प्राधिकरणको छ । त्यो अवस्थामा एक खर्ब ८० अर्ब रुपैयाँको आइपिओ बिक्री गर्ने प्राधिकरणको योजना छ ।
अहिले प्राधिकरणको चुक्तापुँजी दुई खर्ब ६ अर्ब र नेटवर्थ १२५ रुपैयाँ हाराहारीमा छ । सम्पत्ति समायोजन गर्दा नेटवर्थ १५० रुपैयाँसम्म पुग्नेछ । नेटवर्थको डब्बल मूल्यसम्ममा सेयर बिक्री गर्न पाइन्छ । त्यसअनुसार प्रतिकित्ता तीन सयमा आइपिओ बिक्री गर्न पाउने प्राधिकरणको दाबी छ । कार्यकारी निर्देशक घिसिङले यतिको ठुलो रकमको आइपिओ बिक्री हुन चुनौती हुने बताउँदै चरणबद्ध रूपमा बिक्री गरिने बताए । ‘एकैपटक एक खर्ब ८० अर्बको आइपिओ बिक्री नहुन पनि सक्छ । तसर्थ, चरणबद्ध रूपमा आइपिओ बिक्री गर्ने कि भनेर पनि योजना बताएका छौँ,’ उनले भने, ‘यस विषयमा अन्तिम निर्णय हुन बाँकी नै छ ।’
प्राधिकरणले आइपिओ निष्कासनका लागि सहमति माग्दै अर्थ मन्त्रालयमा पत्र पठाइसकेको छ । अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद्मा उक्त प्रस्ताव जानेछ । मन्त्रिपरिषद्ले सहमति दिएपछि प्राधिकरणले विद्युत् नियमन आयोग हुँदै नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि अनुमति माग्नेछ । प्राधिकरणले स्वदेशी तथा विदेशी लगानीकर्ताले निर्माण गर्ने जलविद्युत् आयोजनासँग झन्डै ११ हजार मेगावाटको दीर्घकालीन विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ । प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठुलो सफलता हात परेको छ ।
आर्थिक वर्ष (आव) ०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेकोमा ०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरु गरेको थियो । प्राधिकरणले गत आव ०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । आव ०७२/७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा झारेको थियो । आव ०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो ।
कुलमान घिसिङ, कार्यकारी निर्देशक, विद्युत् प्राधिकरण
सर्वसाधारणलाई सेयर निष्कासनका लागि महत्वपूर्ण मापदण्डका रूपमा रहेको संस्थाको रेटिङ सम्पन्न भइसकेको छ । संस्थाको वास्तविक सम्पत्ति मूल्यांकन गरिसकेका छौँ, सरकारबाट स्वीकृति पाउनासाथ सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन सकिनेछ । सेयर निष्कासनबाट संकलन गरिएको रकमलाई ठुला जलविद्युत् आयोजनाको निर्माणमा लगानी गर्ने योजना बनाएका छौँ ।