आगलागी हुँदा जिल्लामा समन्वय गर्न छैनन् सिडिओ

मन्त्रालयमा महिनौँदेखि सहसचिव जिम्मेवारविहीन, तीन जिल्लामा सिडिओ पद रिक्त

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

आइतबार साँझ खोटाङको हलेसी बजारमा भीषण आगलागी भयो । यस्तो घटना हुँदा तत्कालै प्रमुख जिल्ला अधिकारीले सबै निकायसँग समन्वय गरेर परिचालन गर्नुपर्ने हुन्छ । तर, खोटाङमा दुई सातादेखि सिडिओ नहुँदा आगलागीका वेला समयमै समन्वय हुन सकेन । जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा खोटाङको सिडिओमा शिवबहादुर कार्कीको नाम छ । तर, उनले दुई साताअघि उमेरहदका कारण अवकाश पाइसकेका छन् । रिक्त पदमा मन्त्रालयले तत्कालै सिडिओ पठाउन नसक्दा आइतबार आगलागीको विपत्मा नागरिकले समस्या झेल्नुपर्यो । 

खोटाङ मात्र होइन, ओखलढुंगा र मकवानपुरमा पनि हाल सिडिओ पद खाली छ । विपत्को समयमा सिडिओलाई जिल्ला छाड्नसमेत अनुमति हुँदैन । तर, आगलागीका घटना बढ्न थालेका वेलामा गृह मन्त्रालयले नै सिडिओ पद खाली राखेको छ । ओखलढुंगाका सिडिओ डा. नारायण ढकालले गत १६ पुसमा अवकाश पाएयता जिल्लामा सिडिओ पद रिक्त भएको हो ।

 रामचन्द्र तिवारी, प्रवक्ता, गृह मन्त्रालय
केही जिल्लामा सिडिओ पद खाली छ । त्यहाँ मन्त्रालयले सिडिओ खटाउने तयारी गरिरहेको छ ।

 मकवानपुरमा सिडिओ तीर्थराज चिलुवालको गत २८ माघमा अर्थ मन्त्रालयमा सरुवा भएकोमा नयाँ सिडिओ पठाइएको छैन । मकवानपुरमा सहायक सिडिओ रहेका धोलकराज ढकाल सहसचिवमा बढुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गएका छन् । जसकारण जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृतको कमान्डमा पुगेको छ । गृह मन्त्रालयमा कर्मचारी नभएर सिडिओ नपठाइएको भने होइन । मन्त्रालयमा पाँच सहसचिव महिनौँदेखि जिम्मेवारी नपाएर बसेका छन् । सहसचिवहरू शशिधर घिमिरे र सूर्यप्रसाद सेढाईं पाँच महिनादेखि मन्त्रालयमा हाजिर गर्दै फर्कने गरेका छन् । 

त्यस्तै, सहसचिवहरू बन्धु बास्तोला, प्रेम भट्टराई पनि डेढ महिनादेखि ‘बरन्डा’मा छन् । हालै मन्त्रालयमा सरुवा भएका सहसचिव नारायण रिसाल पनि जिम्मेवारीविहीन छन् । जिम्मेवारी नपाउने उपसचिवको संख्या पनि ठूलो छ । तर, सेवाग्राहीको चाप हुने जिल्लामा भने सिडिओ तथा कर्मचारी नहुँदा सेवाप्रवाह अस्तव्यस्त हुँदै गएको छ । सरुवामा अत्यधिक चलखेल हुँदा सरुवासम्बन्धी निर्णय हुन नसकेको मन्त्रालय स्रोत बताउँछ । ‘असल नियतले पठाउने हो भने मन्त्रालयका जिम्मेवारविहीन कर्मचारीलाई तत्कालै पठाउन सकिन्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर, अनेक चलखेलका कारण निर्णय हुन सकेको छैन, जसको दुःख जनताले भोग्ने अवस्था आएको छ ।’ 

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले रिक्त रहेका तीन जिल्लामा सिडिओ खटाउने तयारी भइरहेको बताउँछन् । ‘केही जिल्लामा सिडिओ पद खाली छ,’ उनले भने, ‘त्यहाँ मन्त्रालयले सिडिओ खटाउने तयारी गरिरहेको छ ।’ मन्त्रालयले केही सिडिओलाई तीन महिनामै हटाएको थियो । तर, कतिपय जिल्लामा भने १४ महिनासम्म राखिएको छ । कपिलवस्तुका सिडिओ विश्वप्रकाश अर्यालको अवधि १४ महिना नाघ्दा पनि सरुवा भएको छैन । सामान्यतया एक वर्षको अवधिमा सरुवा गर्ने प्रचलन छ । त्यस्तै, स्याङ्जाकी सिडिओ सुनिता नेपालको अवधि पनि १४ महिना पुग्न लागिसकेको छ । 

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
आगो निभाउन पानी अभाव, एक करोडबराबरको क्षति भएको प्रारम्भिक अनुमान

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसी बजारका तीन घरमा क्षति पुगेको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानस्थित पदम राईको भान्साकोठाको ग्यास सिलिन्डरबाट आइतबार साँझ ६ बजेतिर लागेको आगो राति करिब ११ बजे नियन्त्रणमा लिइएको हो । आगोबाट पदम राईको घर तथा हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, ऐराख राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति भएको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठुलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन् । 

पदम राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर सुुरु भएको आगो दमकल अभावमा तत्कालै नियन्त्रणमा लिन नसक्दा ठुलो क्षति भएको स्थानीय सयन्द्र राईले जाजकारी दिए । ‘आगलागीबाट मानवीय क्षति भएको छैन । दमकल अभावका कारण समयमै आगो नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको छ,’ उनले भने, ‘सुरक्षाकर्मी र स्थानीयवासीको मद्दतका कारण थप क्षति हुनबाट जोगाएका छौँ । ढुंगामाटो र जस्तापाताको घर भएको हलेसीमा मद्दत नपुगेको भए थप क्षति हुन सक्थ्यो ।’

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगलागी नियन्त्रणमा लिन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले बताए । ‘आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ,’ उनले भने, ‘आगलागीबाट तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर तथा ग्यास पसलमा क्षति भएको छ । सबैमा भएको क्षतिको विवरण हेर्दा करिब एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।’ 

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसी बजारमा भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको थियो । स्थानीय र इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी टोलीले आगो नियन्त्रणमा लिन नसकेपछि जिल्लाबाट थप सुरक्षाकर्मी मगाइएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हलेसी आगलागीपीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

सुझावित समाचार