अमेरिकाले नेपाललाई दिने साढे पाँच अर्ब रुपैयाँ अनुदान रद्द गरेको छ । नेपालको वित्तीय संघीयता र जैविक विविधताको क्षेत्रका लागि दिइएको ३९ मिलियन अमेरिकी डलर (पाँच अर्ब ४० करोड ६१ लाख रुपैयाँ)बराबरको अनुदान रद्द गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको नेतृत्वमा गठन गरेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ले सूचना जारी गर्दै नेपालसहितका मुलुकलाई दिइँदै आएको सहयोग रद्द गरेको हो । ‘अमेरिकी करदाताको डलर खर्चका लागि बाहिर जाने थियो, त्यसलाई तत्काल लागू हुने गरी रद्द गरिएको छ,’ विभागले सामाजिक सञ्जाल एक्समा लेखेको छ । यसैअनुसार नेपालको वित्तीय संघीयताको २० र जैविक विविधताका लागि तोकिएको १९ मिलियन अमेरिकी डलर सहायता रद्द गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको नेतृत्वमा गठन गरेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ले सूचना जारी गर्दै नेपालसहितका मुलुकलाई दिइँदै आएको सहयोग रद्द गरेको हो ।
अर्थ मन्त्रालयले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन । अर्थका उच्च अधिकारीले युएसएडको अनुदान स्थगनपछि अन्य सहायता रोकिएको विषयमा औपचारिक जानकारी आइनसकेको बताए । यद्यपि, अन्य सहायता पनि स्थगन हुने अनौपचारिक जानकारी प्राप्त भएको उनीहरूले बताए । ‘युएसआइडीको सहायता स्थगन छ र अन्य दुई सहायता पनि रोकिएको भन्ने आएको छ । तर, औपचारिक रूपमा अहिले केही भन्न सकिँदैन,’ एक उच्च अधिकारीले भने ।
अमेरिकाले युएसआइडी सहायतामार्फत उपलब्ध गराउँदै आएको अनुदान ९० दिनका लागि यसअघि नै निलम्बन गरिसकेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पद सम्हालेलगत्तै सबै किसिमका वैदेशिक अनुदान ९० दिनसम्म निलम्बन गर्ने कार्यकारी आदेश जारी गरेका थिए ।