परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षीलाई सम्झाइन् मोदीलाई बुझाएको निम्ता

जयशंकरको जवाफ– भ्रमण उपयुक्त समयमा हुन्छ

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण
परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षीलाई सम्झाइन् मोदीलाई बुझाएको निम्ता

ओमनको राजधानी मस्कटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकर

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय समकक्षी डा. एस जयशंकरसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा जोड दिएकी छिन् । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन ओमनको राजधानी मस्कटमा रहेका राणा र भारतीय विदेशमन्त्री जयशंकरबिच आइतबार प्रतिनिधिमण्डलसहित आधा घण्टा साइडलाइन भेटवार्ता भएको हो । 

‘प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मैले दिएको निमन्त्रणाका विषयमा म पुनः स्मरण गराउन चाहन्छु । नेपाल सरकार र नेपाली जनता भारतीय प्रधानमन्त्रीलाई नेपालमा स्वागतका लागि प्रतीक्षारत छन्,’ परराष्ट्रमन्त्री राणाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी नेपाली अधिकारीले नयाँ पत्रिकासँग भने । जवाफमा जयशंकरले ‘प्रधानमन्त्री मोदीको नेपाल भ्रमण उपयुक्त समयमा हुन्छ’ भनेको ती अधिकारीले बताए । प्रधानमन्त्री ओलीको भारत भ्रमण चाहनाबारे भेटमा कुनै छलफल नभएको उनको भनाइ छ । 

प्रधानमन्त्री ओलीले गत २२ असोजमा न्युयोर्कमा भएको भेटमा पनि मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा सम्झाएका थिए । यद्यपि, भारतीय पक्षबाट प्रधानमन्त्री ओलीलाई भने भ्रमणको निमन्त्रणा आएको छैन । दुई परराष्ट्रमन्त्रीहरूबिच नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्परिक लाभका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए । ‘पछिल्लो समय दुई देशबिचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदान–प्रदान तथा आपसी सहकार्यका विषय, हालै काठमाडौंमा सम्पन्न वाणिज्यसचिवस्तरीय वार्ता र भारतको नयाँदिल्लीमा भएको ऊर्जासम्बन्धी बैठक एवं अन्य बैठकहरूको परिणाम र प्रगतिका विषयमा दुवै परराष्ट्रमन्त्रीले कुराकानी गर्नुभयो,’ पाठकले भने ।

परराष्ट्रमन्त्री राणाले भारतसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि सहकार्य गर्न सदैव इच्छुक रहेको बताएकी थिइन् । भारतीय विदेशमन्त्री जयशंकरले १०६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण परियोजना निर्माण प्रक्रिया अघि बढेकोमा प्रशंसा गरेका थिए । जयशंकरले बिमस्टेक संगठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । भेटपछि जयशंकरले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘नेपालका परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्दा खुसी लाग्यो । हाम्रो द्विपक्षीय सम्बन्धको उपयोगी समीक्षा गर्यौँ । हाम्रो सम्बन्ध सुदृढ हुँदै जाने अपेक्षा छ ।’ 

परराष्ट्रमन्त्री राणाले भारतसँग भएको ऊर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बंगलादेश विद्युत् निर्यात प्रवद्र्धनमा सहयोग पुर्याएको बताएकी थिइन् । दुई देशबिच व्यापार र पारवहन एवं जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिका विषयमा पनि दुवै परराष्ट्रमन्त्रीले समीक्षा गरेका थिए ।

सुझावित समाचार