खाँदबारी नगरपालिकाका मेयर महेश थपलियालाई वडा नम्बर ९ का अध्यक्ष विमलराज गौतमले मदिरा सेवन गरी कार्यकक्षमै दुर्व्यवहार गरेका छन्। आइतबार दिउँसो करिब ४ बजेतिर मेयर थपलियाको कार्यकक्षामा प्रवेश गरी वडाध्यक्ष गौतम र सोही वडाका पूर्ववडाध्यक्ष टीकाराम कुमालले दुर्व्यवहार गरेका हुन्।
कार्यकक्षमा छिरेर मनपरी बोल्ने, होहल्ला गर्दै हातपात प्रयास गरेको मेयर थपलियाले बताए। उनीहरू मदिराले मातेको अवस्थामा कार्यकक्षमा छिरेको र विभिन्न कुरा गर्न थालेपछि अर्को दिन ‘फ्रेस’ अवस्थामा कुरा गर्नेभन्दा हातपात प्रयास गरेको मेयर थपलियाले बताए।
मेयर थपलियालाई दुर्व्यवहार गर्न थालेपछि नगरप्रहरी र मेयरका स्वकीयसचिव गोकुल खनालले उनीहरूलाई कार्यकक्षबाट बाहिर निकाल्ने प्रयास गरेका थिए। तर, उनीहरूले नमानेको मेयर थपलियाको भनाइ छ।
नगरप्रहरीले सम्हाल्न नसकेपछि नेपाल प्रहरीलाई फोन गरेर कार्यकक्षबाट बाहिर निकालिएको थिए। गौतम र कुमाल जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा रहेका छन्। उनीहरूविरुद्ध मेयर थपलियाले उजुरी दिएका छन्। गत ०७९ को स्थानीय तहको निर्वाचनमा मेयर थपलिया कांग्रेसबाट निर्वाचित हुन् भने वडाध्यक्ष गौतम र कुमाल एमालेबाट निर्वाचित भएका हुन्।