परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

 परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच आइतबार ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ। आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा उनीहरूबिच आज साँझ भेट भएको हो। 

सो भेटका क्रममा उहाँहरूबिच नेपाल भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थिय। त्यस भेटका क्रममा पछिल्लो समय दुई देशबिचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको मन्त्री देउवाको सचिवालयले जनाएको छ । हालै काठमाडौंमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँ दिल्लीमा भएको ऊर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उनीहरुबीच कुराकानी भएको थियो। 

भेटमा मन्त्री डा देउवाले भारतसँग भएको उर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बंगलादेश विद्युत निर्यात प्रवद्र्धनमा सहयोग पुर्याएको भन्दै भारत सरकारलाई धन्यवाद  दिएकी छिन् ।  भेटमा पछिल्लो समयमा दुई देशका बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको छ ।  
 
नेपाल भारत बंगलादेशबीचको त्रिपक्षीय विद्युत व्यापार सम्झौता नेपालको उर्जा क्षेत्रका लागि एउटा ठूलो उपलब्धि रहेको भन्दै त्यसका लागि भारतले प्रदान गरेको सहजीकरण उल्लेखनीय रहेको मन्त्री डा देउवाको भनाई थियो । 

भेटमा क्रस बोर्डर विद्युत व्यापार निर्माणको मोडालिटीका विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको  छ । साथै नेपाल भारतबिचको व्यापार सन्धीको पुनरावलोकन, यही जनवरीमा काठमडौँमा भएको नेपाल भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा र मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो । 

साथै, सो भेटका क्रममा भारतीयतर्फबाट अतिरिक्त बन्दरगाहहरू सञ्चालनका लागि भएको प्रगति र यसले सीमा पूर्वाधारको विकास र व्यापार प्रवर्द्धन तथा दुई देशबिचको कनेक्टिभिटीमा सुधार ल्याउने भन्दै मन्त्री डा. देउवाले प्रशंसा गरेकी थिइन्। 

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्याहरू समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रीस्तरीय बैठकबाट यसलाई सकारात्मक रूपमा अघि बढाउने समझदारी भएको विषयमा उनीहरूबिच छलफल भएको थियो । 

सो भेटका क्रममा माथिल्लो अरुण परियोजना अघि बढेकोमा भारतीय विदेशमन्त्रीले धन्यवाद व्यक्त  गरेका छन् । साथै, विदेशमन्त्री डा. जयशंकरले बिमस्टेक संगठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा पनि  राखेका छन्।   

मन्त्री डा. देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको भारतीय विदेशमन्त्रीसमक्ष बताएकी छिन्। 

कन्फरेन्समा भाग लिन परराष्ट्रमन्त्री देउवा शुक्रबार त्यसतर्फ गएकी हुन्। 
 

सुझावित समाचार