नेपाल राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले फोर नेसन्स कपको उपाधि जित्न खेल्ने बताइएकी छिन् ।
प्रतियोगिताको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा बोल्दै अञ्जिलाले भनिन्, ‘साफ महिला च्याम्पियनसिपलगत्तै खेल खेल्न पायौँ । तयारी राम्रो भएको छ । सहभागी टिम पनि राम्रो छन्,’ अञ्जिलाले भनिन्, ‘प्रशिक्षकको योजनाअनुसार खेलेर उपाधि जित्न खेल्छौँ ।’
सोमबारबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानको सामना गर्दै छ । दशरथ रंगशालामा हुने खेल साझ ६ बजे सुरु हुनेछ । त्यसपछि नेपालले ८ गते म्यानमार र ११ गते लेबनानसँग खेल्ने तालिका छ ।
कप्तान अञ्जिलाले महिला लिगलगत्तै फोर नेसन्स कप आयोजना गरेकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)लाई धन्यवाद पनि दिइन् । ‘महिला लिग लगत्तै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेकोमा एन्फालाई धन्यवाद । हामीलाई यो राम्रो अवसर हो । जित्न खेल्छौँ । बोल्नेभन्दा पनि खेलेर उपाधि जिताउनु छ ।’
फिफा अन्तर्राष्ट्रिय विन्डो पारेर एन्फाले नेपालसहित म्यानमार, लेवनान र किर्गिस्तानलाई प्रतियोगितामा सहभागिता गराएको हो । यो खेलपछि खेलाडीको अनुभव बढ्ने साथै फिफा वरीयता सुधार गर्ने नेपालको योजना छ ।
सहभागी टिममध्ये सबैभन्दा बलियो टोली नै म्यानमार हो । म्यानमार फिफा वरीयताको ५५ स्थानमा छ । नेपाल १०३, किर्गिस्तान १२८ र लेबनान १३४औँ स्थानमा छन् ।
कप्तान अञ्जिलाले कुनै पनि टिमलाई कमजोर नआँक्ने बताइन् । ‘सबै टोली उस्तै छन् । हामी टिम हेरेरभन्दा पनि हरेक खेल जित्न खेल्छौँ ।’
प्रतियोगिताको लागि प्रशिक्षक राजेन्द्र तामाङले अञ्जिलाको नेतृत्वमा २३ सदस्यीय टिम छनोट गरेका छन् । साफ च्याम्पियसिपमा घाइते दीपा शाही र हिराकुमारी भुजेलसँगै नेपाली सेनाको सहसेनानीको तालिममा रहेकी अमिषा कार्की नेपाली टिममा हुने छैनन् । प्रशिक्षक तामाङले मिडफिल्डर सुष्मा तामाङ र डिफेन्डर मनमाया दमाईंलाई पहिलोपटक टोलीमा समावेश गरेका छन् । सरस्वती हमाल र चन्द्रा भण्डारीले टोलीमा कमब्याक गरेका हुन् ।
ग्रिसको लिग खेलरहेकी कप्तान अञ्जिलासहित युएईको लिग खेलिरहेकी रेखा पनि स्वदेश आइपुगिसकेकी छिन् । फ्रान्सको लिग खेलिरहेकी सावित्रा भण्डारी भने सोमबार बिहान मात्रै स्वदेश फर्किनेछिन् ।
प्रशिक्षक तामाङले फोर नेसन्सका लागि तयारी पूरा भएको बताए । ‘सबै तयारी सकिएको छ । अञ्जिला र रेखा आइसकेका छन् । सावित्रा बिहान आउनेछिन् । सबै टिमलाई सजिलै जित्न सकिन्छ भन्ने छैन । हाम्रो स्ट्राइकर राम्रा छन् । काउन्टर अट्याकमा ध्यान दिन्छौँ र बल नियन्त्रणमा पनि राख्छौँ ।’
तामाङले लिगलगत्तै प्रतियोगिता खेल्दा सहज भएको बताए । उनले विपक्षीहरूसँग यसअघि नै खेलिसकेको भए पनि सामान्य नसोच्ने बताएका छन् ।