दाहालको अध्यक्षतामा तीन वर्षका लागि १६७ नयाँ कार्य समिति चयन
एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चयन भएकी छिन् । संगठनको १२औँ महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएको महाधिवेशनको बन्दसत्रका अध्यक्षमण्डलका अध्यक्ष तथा पेसागत महासंघ नेपालका इन्चार्ज रामेश्वर फुयाँलले जानकारी दिए।
उनका अनुसार शनिबार भएको सहमतिअनुसार दाहालको अध्यक्षतामा तीन वर्षका लागि १६७ नयाँ कार्यसमिति चयन गरिएको हो । पेसागत महासंघ नेपालका इन्चार्ज फुयाँलका अनुसार वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभाषप्रसाद साह, उपाध्यक्षमा युवाचन्द्र घिमिरे, विष्णु अर्याल, कृष्णबहादुर केसी र विजयालक्ष्मी सुवेदी तथा महासचिवमा रामचन्द्र अधिकारी निर्वाचित भएका छन् ।
यस्तै, संगठनको उपमहासचिव वामदेव ओली, सूर्यबहादुर कुँवर र कमला दाहाल निर्वाचित भए । यस्तै, सचिवमा देवी पराजुली, राजबहादुर पछाई, तेजप्रकाश भण्डारी, ओमबहादुर कठायत र गोविन्द अधिकारी, कार्यालय सचिवमा पदमबहादुर शाही, कोषाध्यक्षमा कोषाध्यक्षमा यमकुमारी सापकोटा र सहकोषाध्यक्षमा दीपक शर्मा पौडेल निर्वाचित भएका छन्।
महाधिवेशनले प्रदेश इन्चार्ज पनि तोकेको छ । जसअनुसार कोशीमा ध्रुवबहादुर कार्की, मधेशमा नौतम पोखरेल, बागमतीमा पुरुषोत्तम रायमाझी, गण्डकीमा भरत भुसाल, लुम्बिनीमा कविसिंह कठायत, कर्णालीमा तुलाराम गिरी, सुदूरपश्चिममा प्रकाशबहादुर खड्का र उपत्यका विशेषमा गणेशप्रसाद आचार्यलाई तोक्ने निर्णय गरेको छ । संगठनको महाधिवेशन गत माघ ३० गतेदेखि काठमाडौंमा सुरु भएको थियो ।