भूमिसम्बन्धी समस्या छिट्टै समाधान गर्न सरकारले अध्यादेश ल्याएको हो : मन्त्री अधिकारी

शनिबार, ३ फागुन, २०८१
डिजिटल संस्करण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या छिट्टै समाधान गर्न सरकारले अध्यादेश ल्याएको बताएका छन् । शनिबार  कपिलवस्तुस्थित नापी कार्यालयले आयोजना गरेको गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपत्र वितरण समारोहमा मन्त्री अधिकारीले कानुन निर्माण पक्रियामा ढिलाई हुने भएकाले अध्यादेशमार्फत समस्या समाधान अघि बढाएको बताएका हुन् । 

मन्त्री अधिकारीले भूमिसम्बन्धी समस्या समाधान तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै ७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोग समिति गठन भइसकेको बताए । गाउँ ब्लक, बालबिटोरी, उखडा र भूमिहीनसम्बन्धी सबै काम अघि बढेको साथै  विशेषगरी कपिलवस्तुको तौलिहवा र कृष्णनगर बजारमा रहेको बालबिटोरी समस्या समाधानका लागि सरकारले कदम अगाडि चालेको र उक्त समस्या समाधान जिल्ला समितिबाट हुने उनले बताए । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले समितिले पूर्णता पाएपछि थप काम अघि बढाइने बताए । 

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले तौलिहवा बजारमा बालबिटोरी जग्गाका कारण वर्षौदेखि लालपुर्जा नपाएर बस्न बाध्य भएको बताउँदै मन्त्री अधिकारीलाई समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह गरेका छन् । उनले जहदीदेखि जगदीशपुरसम्मको बाटो पक्की बनाउन पहल गर्ने समेत आग्रह गरेका थिए । नगरपालिकाले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा जनताको सहजताका लागि विभिन्न कार्यक्रम अघि बढाएको पौडेलले बताए  । 

कार्यक्रममा वडा नं  ११ स्थित १३ स्थानका ३३९ गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।  प्रमाणपत्र पाएपछि वर्षाैँदेखि जोतभोग गर्दै आएका स्थानीय जग्गाधनीहरूले आफूहरू वास्तविक मालिक भएको महसुस गरेको बताएका छन् ०२६ सालमा नापी भए पनि बल्ल लालपुर्जा प्राप्त गर्न सफल भएको स्थानीयको भनाइ छ ।
०७२ सालमा गाउँब्लकको पुनः नापी गरिएको बताउँदै नापी कार्यालयका प्रमुख जनक भण्डारीले जिल्लाका गाउँ ब्लक जग्गाको समस्या समाधान गर्न पाँचवटा टोली परिचालन गरिएको जानकारी दिए । उनले ०६५ सालदेखि नै नापी गरी लालपुर्जा वितरणको काम भइरहेको बताएका छन् । 

भण्डारीका अनुसार जिल्लाका साबिक ८१ गाविसमध्ये एक हजार १७२ ब्लक रहेको र जसमा एक हजार १६५ को नाप नक्सा तयार भइसकेको छ। हालसम्म ३९२ गाउँ ब्लकका सात हजार ६८० लालपुर्जा वितरण भइसकेका र १०५ ब्लकका दुई हजार १२१ लालपुर्जा वितरणका लागि तयारी अवस्थामा रहेको उनले बताए । 
 

सुझावित समाचार