सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति निर्विरोध भएका छन्। सभापतिको मनोनयनका लागि शनिबार दिउँसो चार बजेसम्म निर्धारित अवधिभित्र एक/एकजनाको मात्र उम्मेदवारी परेको हो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबिच समिति सभापतिमा भागबन्डा भएपछि निर्विरोध हुने अवस्था बनेको हो। सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र अक्कलबहादुर रावलले उम्मेदवारी दर्ता गरेका छन्। उनी माओवादी संसदीय दलका उपनेता हुन्।
सामाजिक विकास समितिको सभापतिमा नेकपा एमालेका धर्मराज पाठक र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले उम्मेदवारी दर्ता गरेका प्रदेश सभा सचिवालयले जनाएको छ । दलहरूबिच भागबन्डा मिलाउन गठन गरिएको विशेष समितिको सभापतिका लागि नेपाली कांग्रेसका तुलसी देवकोटाले उम्मेदवारी दिएकी छिन्। यसअघि सत्तारूढ कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीबिच सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिने र बाँकी तीन समितिको नेतृत्व तीनै दलले एक/एकवटा लिने सहमति भएको थियो ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले चारवटै समितिको सभापतिका लागि एक/एकजनाको मात्र उम्मेदवारी परेको उल्लेख गर्दै निर्विरोध भएको घोषणा सम्बन्धित समितिको बैठकले आइतबार गर्ने जानकारी दिए । उम्मेदवारविरुद्ध दाबीविरोधको प्रकृया पूरा भएपछि आइतबार मध्यान्ह्र १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
सबै समितिमा एकल उम्मेदवारी परेकाले निर्वाचनको दाबीविरोध लगायत प्रकृया पूरा भएपछि दिउँसो १ बजे बस्ने सम्बन्धित समितिका बैठकले सभापति निर्विरोध भएको घोषणा गर्ने सूचना अधिकारी जैसीले बताए । सभापति मन्त्री बनेपछि अर्थविकास समिति गत वर्ष फागुनबाट र सार्वजनिक लेखा तथा सामाजिक विकास गत जेठदेखि नेतृत्वविहीन थिए।