संसदबाट अध्यादेश पास गर्ने विषयमा छलफल गर्न सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको छ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशहरुलगायत विषयमा छलफल भएको छ ।
शुक्रबार बेलुका एमाले र काँग्रेसका नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न थियो । सोही बैठकको निर्णयका आधारमा सत्तापक्षीय दलहरुको बैठक बसेको हो।
सरकारले ल्याएका अध्यादेश राष्ट्रियसभाबाट पास नहुने अवस्थाका कारण हाल सरकार समस्यामा परेको छ। सोही विषयमा केन्द्रीत भएर बैठक बसेको हो। सरकारलाई समर्थन गरेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादब बैठकमा गएका छैनन्।
