नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले राष्ट्रिय राजनीतिमा समकालीन नेताहरूमध्ये आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनेताको हैसियत बनाएको दाबी गरेका छन् ।
माओवादी केन्द्र भोजपुर नगर कमिटीको दोस्राे अधिवेशन तथा खबरदारी सभालाई शुक्रबार सम्बोधन गर्दै पुनले मुलुक परिवर्तनमा खेलेको भूमिका र नेतृत्व क्षमताका आधारमा प्रचण्ड राजनेता भएको बताए ।
१८ महिना सरकारको नेतृत्व गर्दा भ्रष्टाचार र राज्य दोहनविरुद्ध उभ्याएका कारण सरकारबाट बाहिरनुपरेको भन्दै उनले प्रतिपक्षमा आएपछि प्रचण्ड र पार्टीको लोकप्रियता बढेको दाबी गरे । आफूहरूले दलाल तथा बिचौलिया वर्गसँग लड्न र राज्य दोहन तथा भ्रष्टाचारविरुद्ध उभिन थालेपछि आमजनताले फेरि प्रचण्ड र माओवादी मन पराउन थालेको दाबी पनि पुनले गरे ।
व्यवस्थामा देखिएका सीमा र विकृतिमाथि प्रहार गर्दै आफूहरूले समाजवादतर्फको यात्रा थालेको भन्दै पुनले किसान, मजदुर, देशभक्त र समाजवादी कार्यदिशा बोक्नेसँग मिलेर ०८४ को निर्वाचनमा संघ, प्रदेश र स्थानीय निर्वाचन एक्लै लड्ने दोहोर्याए ।
प्रचण्डको नेतृत्वमा ०८४ को निर्वाचनमा पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गरी समाजवादको आधार तयार पार्ने दाबी पुनले गरे ।
उनले प्रचण्डवरिपरि हजारौँ नेतृत्वको पंक्ति तयार पार्ने भन्दै प्रचण्डले आफू आजीवन नेतृत्वमा रहन्छु नभनेको तर्क गरे । पार्टीको विधान अधिवेशनले कार्यकर्ताको मतबाट नेतृत्वको टिम तयार पार्ने विधि स्पष्ट गरिसकेको पुनले उल्लेख गरे ।
विगतमा राजतन्त्रको पक्षमा रहेका कांग्रेस र एमाले गणतन्त्रवादी शक्ति हाबी भएपछि आफूहरूतिर आएको, तर समय क्रममा क्रान्तिकारी आन्दोलन केही कमजोर भएपछि माओवादी आन्दोलनलाई हिंसा भन्दै संघीयता र समावेशीताको विरुद्ध उभिन थालेको आरोप उनले लगाए ।
१२बुँदे समझदारीबाट सुरु भएको कांग्रेस एमालेसँगको राजनीतिक समझदारीको यात्रा संविधान बनाउँदासम्म रहे पनि संविधान कार्यान्वयनका क्रममा बाटो फरक परेको तर्क उनको छ ।
संविधान कार्यान्वयन गर्दै नयाँ सामाजिक र आर्थिक आधार तयार पार्ने कुरामा कांग्रेस र एमालेसँग आफूहरूको बाटो फरक भएको पुनको भनाइ थियो ।
‘हामी सुशासन र सामाजिक न्यायको पक्षमा उभियौँ । राज्यव्यवस्था बिचौलिया र दलालले होइन । दलहरूले चलाउने हो भन्यौँ । हामी शोषित उत्पीडिततिर फर्कन खोज्ने उहाँहरू दलाल र बिचौलियातिर फर्कने भएपछि हाम्रो बाटो फरक भयो,’ पुनले भने । उत्पीडित समुदायको हितमा उभिएपछि र दलाल र पुँजीपति वर्षसँग फरक परेपछि माओवादी सरकार छाडेर बाहिर आउने परिस्थिति बनेको दाबी उनको छ ।
फरक प्रसंगमा पुनले विचारको संकटका कारण विश्व राजनीतिमा अन्धराष्ट्रवादी लोकप्रियतावाद, धार्मिक राष्ट्रवाद र जातिवादजस्ता लोकप्रियतावादीहरू हाबी हुन खोजेको बताए ।
नेपालमा पनि विचार, राजनीति, दृष्टिकोण, वर्ग, नीति, विधि र कार्यशैलीविनाको लोकप्रियतावादी हावा चलेको पुनले उल्लेख गरे ।