नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुंगा भएको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरूसँग आज भएको भेटमा उनले यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्रीका रूपमा आफूले भारत भ्रमण गर्दा भारतीय कमकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गरेका थिए। ‘भारत र बंगलादेशसँग मैले धेरै नै मिहिनेत गरेर विद्युत् व्यापार सम्झौता गरेको थिएँ, यो देशको समृद्धिका लागि कोसेढुंगा नै हो,’ उनले भने, ‘हामीले जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेशलगायत देशलाई बिक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौँ ।’
भारत हुँदै बंगलादेशमा विद्युत् निर्यात गर्ने र भारतलाई १० वर्षमा १० हजार मेगावट विद्युत् बिक्री गर्ने सम्झौता तथा चीनमा विद्युत् निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले यसका लागि विद्युत् उत्पादनमा ध्यान दिनुपर्ने बताए ।