कर छुटका लागि ट्रम्पलाई मनाउने प्रयासमा मोदी

शुक्रबार, २ फागुन, २०८१
डिजिटल संस्करण

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट गरे । भेटलाई मोदीले ट्रम्पसँगको पुरानो मित्रता पुनर्जीवित गर्ने र भन्सार तथा आप्रवासनमा अमेरिकी राष्ट्रपतिको कठोर कदमबाट भारतलाई जोगाउने प्रयासका रूपमा हेरिएको छ । रिपब्लिकन पार्टीका नेता ट्रम्प सत्तामा फर्किएपछि ह्वाइट हाउस पुग्ने विदेशी नेताहरूको शृंखलामा मोदी पछिल्लो नेता बनेका छन् । इजरायली प्रधानमन्त्री, जापानी प्रधानमन्त्री र जोर्डनका राजापछि ह्वाइट हाउस जाने मोदी विश्वका चौथो नेता हुन् । उनले आफ्नो पहिलो कार्यकालमा ट्रम्पसँग राम्रो सम्बन्ध विकास गरेका थिए । 

मोदीले भ्रमणअघि अमेरिकामा बनेका महँगा मोटरसाइकल (हार्ले डेभिडसन)को आयातमा लाग्दै आएको उच्च भन्सार शुल्क छुटको प्रस्ताव गरेका थिए । हार्ले–डेभिडसनमाथिको उच्च भन्सारका कारण सो सवारीसाधनले भारतीय बजारमा संघर्ष गर्दै आएको छ । यसले ट्रम्पलाई क्रोधित बनाएको उनीनजिककाले संकेत गर्दै आएका छन् । भारतले गत हप्ता ट्रम्पको आप्रवासन सुधारको हिस्साका रूपमा सयभन्दा बढी अवैध आप्रवासी बोकेको अमेरिकी सैन्य उडान स्विकार्यो । 

मोदीसँगको घनिष्ठताका बाबजुद ट्रम्पले विगतमा असमान व्यापार नीतिलाई लिएर भारतप्रति आक्रोश व्यक्त गरेका छन् । उनले आफ्नो पहिलो कार्यकालमा विश्वको पाँचौँ ठुलो अर्थतन्त्र भारतलाई ‘सबैभन्दा ठुलो कर दुरुपयोगकर्ता’को आरोप लगाएका थिए । ट्रम्पले आफ्नो पुनरागमनपछि सहयोगी तथा प्रतिद्वन्द्वी देशहरू दुवैविरुद्ध भन्सार शुल्क बढाएका छन् । भारत पनि यसको निसानामा पर्ने हो कि भनेर त्रसित छ ।

भारतका शीर्ष कूटनीतिज्ञहरू दुई देशका नेताहरूबिच ‘नजिकको सम्बन्ध’ रहेको बताउँछन् । यद्यपि, यस सम्बन्धले लामो समयदेखि खोजिएको द्विपक्षीय व्यापार सम्झौतामा सफलता हासिल हुन सकेको छैन । तथापि, पछिल्लो समय अमेरिकाका दुवै प्रमुख दलमा बढेको चीनविरोधी दृष्टिकोणको प्रतिक्रियामा तिनले भारतसँगको घनिष्ठतालाई प्राथमिकता दिन थालेका छन् । ट्रम्पले यस वर्षको अन्त्यतिर चीनविरुद्ध गठन गरिएको मानिने ‘क्वाड’को निर्धारित शिखर सम्मेलनमा भारत भ्रमण गर्ने सम्भावना छ । 

See More On

सुझावित समाचार