नसर्ने रोगहरूको पहिचानका लागि एकमहिने अभियान सुरु भएको छ । अभियान आजदेखि सुरु भएको हो । यो अवधिसम्म केही जाँचहरू निःशुल्क गराउन सकिने स्वास्थ्यसचिव रोशन पोखरेलले जानकारी दिए । ‘समयमै नसर्ने रोगको जाँच गराऊँ, दीर्घ जीवन बाँचौँ’ भन्ने नाराका साथ संघीयस्तरबाट अभियान सुरु भएको हो ।
देशभरका सरकारी संस्थाबाट एक महिनासम्म निःशुल्क जाँच हुनेछ । नेपालमा मृत्यु र अपांगताको मुख्य कारण नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखेर यही फागुन महिनाभरि नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भएको हो ।
यदि तपाईं ३० वर्षभन्दा माथि उमेरकाे हुनुहुन्छ भने नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई यी जाँचहरू गराई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सकिनेछ ।
यो अभियान देशभरका स्थानीय तहअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूमा सञ्चालन भएको छ। स्वास्थ्यसचिव पोखरेल भन्छन्, ‘नसर्ने रोग भयावह छ । यो अभियानमा चार प्रकारका जाँच गरिनेछ । यो महिनामा स्थानीय तहलाई समेत यसको अभियान चलाउन लागेको छ । जाँच गर्दा कुनै पैसा लाग्दैन । मन्त्रालयले थप स्वास्थ्यकर्मी परिचालन गरेको छ । ३० वर्ष पुगेकाले यो जाँच गर्न सक्नेछन्। नसर्ने रोग थाहा भयो भने मानिस स्वस्थ हुन सक्नेछ र दीर्घ जीवन बाँच्नेछ ।’
यी हुन् निःशुल्क जाँच हुने रोग
- मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण)
- रक्तचाप (ब्लडप्रेसर) मापन
- मिर्गौलासम्बन्धी रोगको जाँच
- उचाइ र तौलको आधारमा Bmi मापन