नेपाल–भारत ऊर्जासचिवस्तरीय बैठक : १० हजार मेगावाट बिजुली निर्यात गर्ने प्रसारणलाइन बनाउने सहमति

बुधबार, ३० माघ, २०८१
डिजिटल संस्करण

नयाँदिल्लीमा मंगलबार सम्पन्न नेपाल–भारतका ऊर्जा सचिवस्तरीय बैठकमा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि ठुला क्षमताको अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने सहमति भएको छ ।

दुवै देशका ऊर्जासविचस्तरीय संयुक्त निर्देशक समिति (जेएसी)को १२औँ बैठकले संयुक्त लगानीमा चार सय केभी क्षमताका इनरवा–पुर्णिया र दोधरा–बरेली अन्तरदेशीय प्रसारणलाइनको निर्माण अघि बढाउने सहमति भएको छ । 

दुवै प्रसारणलाइन निर्माण गर्न लगानीको मोडालिटीसमेत निर्धारण भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । दुवै प्रसारणलाइन निर्माणका लागि नेपालको तर्फबाट विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी रहने गरी कम्पनीसमेत स्थापाना हुनेछ । सो कम्पनीमा नेपालतर्फ बन्ने प्रसारणलाइनमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत सेयर स्वामित्व रहनेछ । त्यस्तै, भारततर्फको प्रसारणलाइन निर्माण गर्दा पावर ग्रिडको ५१ प्रतिशत र विद्युत् प्राधिकरणको ४९ प्रतिशत लगानी रहने सहमति भएको छ ।

‘संयुक्त लगानीको कम्पनी स्थापनासम्बन्धी कार्य एक महिनाभित्र सम्पन्न गर्ने सहमतिसमेत भएको छ,’ ऊर्जा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । मंगलबारको बैठकलाई नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्यले अध्यक्षता र भारतीय समकक्षी पंकज अग्रवालले सहअध्यक्षता गरेका थिए । 

बैठकमा इनरुवा–न्यु पुर्णिया प्रसारणलाइन सन् २०२८–२९ र दोधरा–बरेली प्रसारणलाइन  २०२९–३० मा निर्माण गरी सञ्चालनमा ल्याउने सहमति पनि भएको छ । त्यसैगरी, दुई सय २० केभीको चमेलिया–जौलजीवी अन्तरदेशीय प्रसारणलाइन पनि आआफ्नो देशको खण्डमा आफ्नै लगानीमा निर्माण अघि बढाउने सहमति भएको हो । हाल यस आयोजनाको विस्तृत सँभाव्यता अध्ययन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । आगामी दुई वर्षभित्र प्रसारणलाइन निर्माण गरी सञ्चालनमा ल्याइसक्ने दुवै देशको तयारी छ ।

सन् २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गरेर १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने नेपालको लक्ष्य छ । त्यसमध्ये १० हजार मेगावाट विद्युत् भारतमा बिक्री गर्ने योजना छ । भारतीय प्रसारणलाइन हुँदै थप विद्युत् बंगलादेश पनि निर्यात गर्ने लक्ष्य छ । सोही विद्युत् निर्यात गर्न पुग्ने गरी प्रसारणलाइन बनाउने सहमति भएको हो ।

थप तीनवटा प्रसारणलाइन पनि निर्माण गरिने

बैठकले नेपाल–भारत अन्तरदेशीय तीनवटा उच्च क्षमतामा प्रसारणलाइनको निर्माण अघि बढाउने सहमति गरेको छ । ऊर्जा मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार निजगढ–हरनैया, कोहलपुर–लखनउ र ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन निर्माणमा सहमति जुटेको हो । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली व्यापार गर्ने लक्ष्यलाई सहयोग पुग्ने गरी यी तीनवटै प्रसारणलाइनको डिपिआर तयार गरिनेछ ।

हाल नेपाल र भारतबिच उच्च क्षमताको चार सय केभीको ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन सञ्चालन मात्र सञ्चालनमा छ । यो प्रसारणलाइनबाट आठ सय मेगावाट बिजुली आपूर्ति भइरहेकोमा सुदृढीकरण गरी एक हजार मेगाावट आपूर्ति गर्न सक्षम बनाइनेछ ।

यसबाहेक चार सय केभी क्षमताकै न्यु बुटवल–गोरखपुर प्रसारणलाइन पनि निर्माणाधीन अवस्थामा छ । त्यसको भारत खण्डको निर्माण संयुक्त (५०–५० प्रतिशत) लगानीमा भइरहेको छ । नेपाल खण्डको निर्माण भने एमसिसी अनुदानअन्तर्गत निर्माण हुँदै छ ।

निर्यातमा भारतले सहजीकरण गर्ने
बैठकमा विद्युत् बिक्रीका लागि प्राधिकरणले भारतबाट लिनुपर्ने स्वीकृतको प्रक्रियालाई सरल र सहज बनाउने सहमति पनि भएको छ । अहिले भारतले यस्तो स्वीकृत दिने कार्यमा ढिलाइ गर्दै आएको छ । आगामी दिनमा भने छिटो–छरितो प्रक्रिया अपनाएर स्वीकृत दिने सहमति भएको स्रोतको भनाइ छ । यस्तै, अहिले निर्माणाधीन एक सय ३२ केभीको नेपालगन्ज–नानपारा अन्तरदेशीय प्रसारणलाइन ९–१० महिनाभित्र सञ्चालनमा ल्याउने सहमति भएको स्रोतले बताएको छ ।

प्रचण्ड र मोदीले गरेका थिए समझदारी
१८ जेठ ०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच हैदराबाद हाउसमा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुलीले भारतीय बजारमा प्रवेश पाउने सहमति भएको थियो । नेपालबाट भारतीय विद्युत् प्रसारणलाइन प्रयोग गरेर बंगलादेशसम्म ऊर्जा व्यापारका लागि सहयोगको वचनसमेत दिएको थियो । उक्त समझदारीलाई मंगलबार सम्पन्न ऊर्जासचिवको संयुक्त बैठकले पूर्णता दिएको हो । 

सुझावित समाचार