खाँदबारीका करदातालाई वाणिज्य प्रशासनसम्बन्धी अभिमुखीकरण

मंगलबार, २९ माघ, २०८१
डिजिटल संस्करण

‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ संखुवासभाको सदरमुकाम खाँदबारीमा उद्योग करदाताहरूलाई वाणिज्य प्रशासनसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा संखुवासभा उद्योग वाणिज्य संघको सहआयोजनामा मंगलबार कार्यक्रम सुरु भएको हो। उक्त कार्यक्रमको मंगलबार एक कार्यक्रमबिच जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले उद्घाटन गरेका थिए। शाक्यले कानुन र नियमले कसैलाई नछाड्ने र कानुनी कुरा जानिन बुझिनँ भन्न नपाइने भएकाले व्यवसायीहरूले आफ्ना व्यवसाय सञ्चालन गरिरहँदा विवेकपूर्ण ढंगले काम गर्नुपर्ने बताए। हिसाबकिताब बिल बिजक, खरिद-बिक्री खाताको सामान्य ज्ञानसमेत नहुँदा व्यवसायीहरूले ठुला समस्या भोग्नुपरिरहेको उनले बताए।

जिसस प्रमुख शाक्यले व्यावसायीहरूलाई नै लक्षित गरी दुईदिने तालिमको आयोजना गरिएको हुँदा भरपुर उपयोग गरी व्यवस्थित ढंगबाट व्यवसाय सञ्चालन गर्न सबैमा आग्रह गरेका थिए। 

कार्यक्रममा संखुवासभा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष युवराज शाक्यले व्यवसायीहरूको हितका लागि संखुवासभा उद्योग वाणिज्य संघले जिल्लाका अन्य धेरै स्थानहरूमा कर प्रशिक्षण तालिम क्षमता अभिवृद्धिलगायतका कार्यक्रम सम्पन्न गरिसकेको जनाए। पान र भ्याटमा व्यवसाय गर्दै आएकाहरूले यो दुईदिने तालिमबाट प्रचुर ज्ञान हासिल गर्नुपर्ने बताए। 

संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले संखुवासभाका उद्योगी व्यवसायीको हितलाई ध्यानमा राखेर कर र वाणिज्य प्रशासनसम्बन्धी जानकारी प्राप्त गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए।

घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रेमचन्द्र राईले तालिमबाट लाभ लिन सबै व्यवसायीहरूलाई आग्रह गरेका थिए। उनले राज्यले निर्धारण गरेको कर, पान र भ्याटलगायत हिसाबकिताब व्यवसायीहरूले जान्नैपर्ने बताए। 

उक्त अभिमुखीकरण कार्यक्रममा खाँदबारी, मानेभन्ज्याङ र तुम्लिङटारलगायतका क्षेत्रबाट समेत व्यवसायीहरू सहभागी बनेका छन्।
 

सुझावित समाचार