अपराजित अत्तरियाले जित्यो अर्जुन ट्रफी

मंगलबार, २९ माघ, २०८१
डिजिटल संस्करण
अपराजित अत्तरियाले जित्यो अर्जुन ट्रफी

डडेलधुरालाई ३४ रनले हराउँदै च्याम्पियन बनेको सिवाइसी अत्तरिया

सिवाइसी अत्तरियाले अर्जुन ट्रफी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि जितेको छ । धनगढीको फाप्ला रंगशालामा सोमबार भएको फाइनलमा अत्तरियाले फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई ३४ रनले हराउँदै उपाधि हात पारेको हो । पहिलो ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ११९ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा डडेलधुराले १८ ओभरमा सबै विकेट गुमाएर ८४ रन मात्र बनाएको थियो । मध्यम लक्ष्य रक्षा गर्ने क्रममा अत्तरियाका साहब आलमले घातक बलिङ गरेका थिए । 

आलमले आठ रन खर्चेर तीन विकेट हात पारे । प्रतियोगितामा राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल उत्कृष्ट ब्याट्सम्यान र बलर घोषित भए । यसैगरी, म्यान अफ दी सिरिज विवेक यादव र उदीयमान खेलाडी हिकमत महरा भएका छन् । म्यान अफ दी सिरिज भएका विवेकले प्रतियोगितामा १५२ रन बनाउनुका साथै १० विकेट हात पारेका थिए । 

उपाधि भिडन्तमा मध्यम योगफल
यसअघि स्तरीय ब्याटिङ गरेको अत्तरियाले फाइनलमा डडेलधुराविरुद्ध कमजोर प्रदर्शन ग¥यो । इनिङ्सका दोस्रो बलमै ओपनरलाई गुमाएको अत्तरियाका लागि रासिद खानले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २१ बलमा एक चौका र तीन छक्का प्रहार गरे । कप्तान सन्तोष कार्कीले २३ बलमा तीन चौकाको सहयोगमा २० रन जोडे । शंकर रानाले २१ बलमा दुई चौका र एक छक्का प्रहार गरी २० रन बनाए । सन्तोष र शंकरबिच दोस्रो विकेटका लागि ४० रनको साझेदारी भएको थियो । 

मध्यक्रममा दीपेश कँडेल र भीम सार्कीले सोचेजस्तो योगदान दिन सकेनन् । भीमले ११ बलमा १० रन तथा दीपेशले नौ बलमा सात रन बनाए । त्यसपछि विवेक र रासिदबिच गतिलो साझेदारी भएको थियो । यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रनमा अंक बनाउन सकेनन् । बलिङमा अभिषेक गौतमले कसिलो बलिङ गर्दै १५ रनमा चार विकेट लिए । गौतमले महत्वपूर्ण विकेट लिएका कारण नै अत्तिरियाले डडेलधुरालाई मध्यम योगफल दिएको हो । कुशल भुर्तेलले ३४ रनमा एक तथा अजय चौहानले १३ रनमा एक विकेट हात पारे । 

दिपेश र आलमले लिए समान तीन विकेट
अत्तरियाका लागि दुई बलरले उत्कृष्ट बलिङ गरेका थिए । ओपनर बलरद्वय दिपेश कँडेल र साहब आलमले समान तीन विकेट हात पारे । दिपेशले १४ रन तथा साहबले आठ रन दिए । सहावले एक मेडन राखे । यसैगरी कलम गुप्ताले २२ रनमा दुई विकेट हात पारे । विवेकले १२ रनमा दुई विकेट लिए । डडेलधुराको ब्याटिङमा ओपनर भुर्तेलले २२ बलमा दुई चौकाको सहयोगमा २० रन बनाए । गजेन्द्र बोहराले २८ बलमा २४ रन जोडे । कप्तान सन्दीप जोराले पाँच तथा अशोक धामीले ११ रन बनाए । 

सुझावित समाचार