उद्योगमैत्री बजेट बनाउन रुपन्देहीका उद्योगीको सुझाव

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण

रुपन्देहीका उद्योगी व्यवसायीहरूले आर्थिक वर्ष ०८२-८३ को बजेटमा उद्योग क्षेत्र सुधारका लागि गरिनुपर्ने विषयलाई सुझावका रूपमा समेट्न नेपाल उद्योग परिसंघमार्फत सरकारलाई आग्रह गरेका छन्। सरकारले आगामी बजेटका समेट्नुपर्ने विषयमा परिसंघले सुझाव माग गरेपछि प्रदेश र जिल्ला तहमा रहेका उद्योगी व्यवसायीहरूले विभिन्न सुझाव दिएका हुन्। उद्योगी व्यवसायीसमक्ष सुझाव लिने क्रममा सोमबार रुपन्देहीमा छलफल गरिएको हो।

कार्यक्रममा सहभागी उद्योगीहरूले अनुत्पादक क्षेत्रमा लगानी बढाएर उत्पादनमूलक उद्योग प्राथमिकतामा नपारेको, चर्को ब्याज दरका कारण धरासायी भएको, सिंगो व्यवस्था नै उद्योगमैत्री नरहेको र कर्जा भुक्तानीमा पनि समस्या रहेको बताए। उनीहरूले बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा ६० प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने, महिला सुविधा कर्जा, युवा उद्यमशीलता कर्जा, पुनर्कर्जाजस्ता कर्जाहरू विशेष गरी उत्पादनशील क्षेत्रमा प्राथमिकता दिनुपर्ने, उद्योग क्षेत्रमा गरिने ऋण लगानीको ब्याजदर एकअंकीय हुनुपर्ने मत राखे।

त्यस्तै, उद्योगमा गरिने लगानीको ब्याजदर बेस रेटको आधारमा कायम गर्नुपर्ने, उद्योगीहरूले एलसी खोल्दाका बखत राख्नुपर्ने १० प्रतिशतसम्म मार्जिन नगद रकम विनाब्याज बैंकमा राख्नुपर्ने व्यवस्था अन्यायपूर्ण रहेको भन्दै हटाउनुपर्ने माग गरेका थिए। उद्योगीको रकम होल्ड गरिने र सो रकम कर्जाबाट होल्ड भएमा उद्योगीले ब्याज तिर्नुपर्ने व्यवस्था व्यावहारिक नभएकाले हटाउनुपर्ने उनीहरूको भनाइ छ।

एलसीबापत जम्मा हुने रकम कर्जा वा बचत खातामा होल्ड गर्ने व्यवस्था गर्नुपर्ने तथा हालको विषम् परिस्थितिलाई मध्यनजर गरी उद्योगहरूको बिक्री क्षमता वृद्धि गर्न बैंकहरूले सरल रूपमा कर्जा प्रवाह गरी कर्जा भुक्तानीको समय सीमा स्वतः वृद्धि गर्दै लगेर चालू पुँजी कर्जा तत्काल लागू गर्न नहुने व्यवस्था समेट्न पहल गर्न आग्रह गरेका छन्। अग्रिम आयकर, खुला भन्सार, गैरकानुनी ढंगबाट हुने गरेका औद्योगिक गतिविधिहरूले उद्योगीहरूलाई संकटतर्फ धकेलेको उद्योगीहरूले गुनासो गरे।

स्थानीय उद्योगी आत्मनिर्भर भए मात्रै स्थानीय अर्थतन्त्रको निर्माण हुने विषयमा ध्यान दिन उनीहरूको आग्रह छ। पूर्वाधार एवं नीतिगत सुधार गरेर अहिले भएका भन्सार नीति उद्योगीमैत्री बनाउन पहल गर्न उनीहरूले परिसंघका प्रतिनिधिलाई आग्रह गरेका हुन्।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटाले उद्योगीहरूले स्वदेशी लगानी वृद्धि हुँदा राष्ट्रिय अर्थतन्त्र मजबुद हुने हुँदा लगानीको वातावरणतर्फ ध्यान दिनुपर्ने धारणा राखे।

परिसंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद बस्यालले आगामी बजेटमार्फत नेपाल सरकार र सम्बन्धित निकायलाई सुझाव दिनका लागि कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रमबाट उठेका विषयहरू सम्बन्धित निकायमा पुर्याउने उनले प्रतिबद्धता जनाए। आ–आफ्नो उद्योगको समस्याका बारेमा उद्योगीहरू चन्द्रमान श्रेष्ठ, उपेन्द्र अग्रवाल, लीलबहादुर कार्की, निश्चल शर्मा, मेघराज भण्डारी, राजकुमार श्रेष्ठ, सूर्यबहादुर कार्की, कुसुम खनाललगायतले सुझाव राखेका थिए। 

सुझावित समाचार