एआइजीलाई राजीनामा दिन लगाइएको विषय संसदमा उठ्यो (भिडियोसहित)

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीका एक एआइजीलाई राजीनामा दिन लगाइएको विषय संसदमा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दैमा यसमा गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेकी छिन् । 

उनले भनिन्, ‘प्रहरी विधेयकमाथि छलफल गर्दा राजनीतिक नियतमा शंका नगर्नु भनेर (गृहमन्त्री) मृदुभाषी भएर बोले, तर त्यही राति एकजना एआइजीलाई राजीनामा गर्न लगाइयो । राजनीतिक थिचोमिचो किन होला ? म प्रश्न सोध्न चाहन्छु । बोल्ने एउटा, गर्ने अर्काे ? नियतमै खराब किन ?’ 

आइतबार नेपाल प्रहरीका एआइजी रवीन्द्र केसीले राजीनामा दिएका थिए । डिआइजी जनक भट्टराईलाई बढुवा गराउन केसीलाई राजीनामा गर्न लगाइएको आरोप लागेको छ । यसमा राजनीतिक हस्तक्षेप भएको भनेर उनले प्रश्न उठाएकी हुन्। 

उनले थप भनिन्, ‘त्यही (राजनीतिक चिथोमिचो) नहोस् भनेर प्रहरी विधेयकमा संशोधन ल्याएको होइन ? कि ऐन पास भएपछि मात्र राम्रो नियत देखाउनुपर्ने हो ? त्यसको म जवाफ चाहन्छु ।’ 

प्रहरी विधेयकको विषयमा पनि उनले प्रश्न गरिन् । ‘साथसाथै पूर्वप्रहरीहरूलाई जुन तरिकाले हिजो रोस्टमबाट भन्नुभयो, खुसी मनाउ, हाफ ग्लास, हाफ इम्प्टी, ग्लासको इक्ज्याम्पल दिनुभयो । तर, ७० वर्षसम्म तपाईंहरूले किन नल्याउनुभएको भनेर ठ्याक्कै त्यही प्रश्न सोध्नुभएको एउटा कार्यक्रममा ? सम्माननीय सभामुखमार्फत म गृहमन्त्रीज्यूलाई यी तीन प्रश्न सोध्न चाहन्छु ।’ 

जातीय विभेदको घटनामा पनि उनले गृहमन्त्रीको जवाफ मागेकी छिन् । ‘हिजो प्रहरी विधेयकमा कुरा गर्दै गर्दा आफूलाई बिपी र मदन भण्डारीका अनुयायी भन्ने गृहमन्त्रीज्यूको म पनि जवाफ चाहन्छु । हाम्रो माननीय सन्तोष परियारले सोधेको प्रश्नको म जवाफ चाहन्छु,’ उनले भनिन् । 
 

सुझावित समाचार