संवेदनशील विषयमा दलित आयोग मौन

आयोग अध्यक्ष देवराज विश्वकर्मालाई अधिकारकर्मीको प्रश्न– गृहमन्त्रीको दबाबमा विज्ञप्ति पनि निकाल्न सक्नुभएन ?

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण
  • सरकारलाई ध्यानाकर्षण गराउने तयारी गर्दागर्दै गृह मन्त्रालय र नेपाल प्रहरीले यस विषयमा स्पष्टीकरण दिए, त्यसकारण आयोगले ती निकायलाई थप भनिरहनुपरेन– अध्यक्ष विश्वकर्मा

अन्तरजातीय विवाह गरेको जोडीमाथि राज्यबाट भएको ज्यादती सार्वजनिक भएको एक सातासम्म चुप बसेको राष्ट्रिय दलित आयोगलाई अधिकारकर्मीले खबरदारी गरेका छन् । तर, आयोग अध्यक्ष देवराज विश्वकर्माले आफ्नो जिम्मेवारी भुलेर अधिकारकर्मीसँग नोकझोक गरेका छन् । कांग्रेस कोटाबाट आयोग अध्यक्ष भएका विश्वकर्माले अधिकारकर्मीलाई हप्कीदप्की गरे । 

‘दलितका लागि दलित अभियान, नेपाल’का संयोजक खगेन्द्र सुनार नेतृत्वको टोलीले आइतबार कुपन्डोलमा आयोगका अध्यक्ष विश्वकर्मालाई ध्यानाकर्षणपत्र बुझाएका छन् । पत्रमा अधिकारकर्मीले ‘दलितको मानव अधिकार रक्षाका लागि स्थापना भएको आयोगले गृहमन्त्री र गृह मन्त्रालयको दबाबमा विज्ञप्ति पनि निकाल्न नसकेको हो ?’ प्रश्न गरे । 

अध्यक्ष विश्वकर्माले घटनालाई गम्भीरतापूर्वक लिएको र सरकारको ध्यानाकर्षण गराइने बताएपछि टोलीले असन्तुष्टि जनाएको थियो । टोलीका एक सदस्यले ‘दलित आयोग सरकारको प्रभाव परेको देखिन्छ’ भनेपछि आयोग अध्यक्ष तत्काल प्रतिवाद गर्दै विज्ञप्तिभन्दा काम ठुलो हुने बताए । 

‘तपाईंले भनेको गलत हो । हचुवा र हतारमा जे–जे आफूलाई लाग्छ, मनोगत रूपमा आयोगले गर्दैन । आवश्यक अनुसन्धान गरेर अगाडि बढ्छौँ । विज्ञप्ति निकाल्नु ठुलो कुरा होइन, विज्ञप्तिभन्दा ठुलो काम हो,’ आयोग अध्यक्ष विश्वकर्माले भने । 

त्यसपछि टोलीका सदस्यले यत्रो दिन भइसक्दा पनि आयोगले विज्ञप्ति पनि निकालेन, मानव अधिकार हनन भएको हो–होइन भन्दै प्रश्न गरेका थिए । जवाफमा अध्यक्ष विश्वकर्माले भने, ‘सरकारको ध्यानाकर्षण गराउने तयारी गर्दागर्दै गृह मन्त्रालय र नेपाल प्रहरीले स्पष्टीकरण दिए । त्यसकारण आयोगले ती निकायलाई थप भनिरहनुपरेन । बोलेर होइन, काम गरेर देखाउछौँँ । बोल्दैमा सबैको मानव अधिकार संरक्षण हुने होइन ।’

त्यसपछि ज्ञापनपत्र बुझाउन पुगेकाले ‘अध्यक्षको अभिव्यक्ति गैरजिम्मेवार भएन र, आयोग स्वतन्त्र छैन र, राज्यका विरुद्धमा एक शब्द पनि बोल्न नसक्ने भन्ने हुन्छ र ?’ भन्दै प्रतिवाद गरे । त्यसपछि पनि अध्यक्ष विश्वकर्माले आफूहरू बोल्ने नभई काम गर्ने हो भन्दै दोहोर्याए ।

त्यसपछि टोलीका सदस्यले जातीय विभेदका घटनामा कहाँकहाँ के काम गर्नुभयो भनेर सोधे । आक्रोशित बनेका अध्यक्ष विश्वकर्माले ‘तपाईंले देखेको मात्र काम हो’ भन्दै भने, ‘हाम्रो काम देख्नुभएको छैन भने ओके, हाम्रो केही पनि काम छैन । म तपाईंलाई काम भन्दैन ।’ 

अभियानले ध्यानाकर्षणपत्रमा भनेको छ, ‘दलित आयोगले गृहमन्त्रीको अस्वाभाविक र अपमानजन्य हस्तक्षेपविरुद्ध न्याय दिलाउन काम गर्नेछ भन्ने विश्वास छ ।’ 

पक्रेर प्रहरीले दायित्व पूरा गरेको हो, हामीले प्रश्न गर्न मिल्दैन

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सत्येन्द्र र नेहा रौनियारलाई प्रहरीले भारतबाट पक्राउ गरेको विषयमा आफूहरूले प्रश्न गर्न नमिल्ने बताए । ‘कस्तो खालको निवेदन थियो । उजुरी परेको खण्डमा प्रहरीले तपाईं–मलाई पनि पक्रन सक्छ । नेपाल प्रहरीको दायित्वमा प्रश्न उठाउन मिल्दैन,’ उनले भने, ‘तर, के आधारमा मुम्बईबाट पक्राउ गरेर ल्याइयो । यस विषयमा अब अनुसन्धान गर्छाैँ ।’

सुझावित समाचार