आगलागीबाट १२ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान
सल्यानमा सञ्चालन भइरहेको महोत्सवको स्टलमा आगलागी भएको छ । गएराति अकस्मात् आगलागी हुँदा स्टलमा रहेका अधिकांश सामान जलेर नष्ट भएका छन्।
महोत्सव सञ्चालन भएको आठौँ दिनको रातमा आगलागी हुँदा ७० प्रतिशतभन्दा बढी स्टल जलेर नष्ट भएका छन् । आगलागीले के–कति मूल्यबराबरको क्षति भयो भन्नेबारे विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
महोत्सवमा राखिएका स्टल र भएको क्षति तथा आगलागीको घटनाका विषयमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । आगलागीका कारण महोत्सव पूर्ण रूपमा प्रभावित भएको छ ।
गएराति ११ बजेतिर लागेको आगो स्थानीय, व्यवसायी, महोत्सव सञ्चालक तथा सुरक्षाकर्मीको टोलीले तीन घण्टा लगाएर नियन्त्रणमा लिएका थिए । स्टलमा सामान्य एक व्यक्तिको १० लाखदेखि ६० लाखसम्मको सामान जलेर नष्ट भएको व्यापारीहरूको भनाइ छ । आगलागीबाट १२ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।




