गोरखा जिल्लाको धार्चे गाउँपालिका– ४, लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ ।
उक्त लगानीसम्बन्धी सम्झौतामा बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका हुन् । कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ ।
प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंकले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ । बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुने कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेले जनाए । आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।
वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुने अनुमान छ । कम्पनी अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, इन्द्रबहादुर ढकाल र विनोद थापासहितको समूहले आयोजना निर्माण गर्न लागेको हो ।
यो समूहले यसअघि सोही क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिनाअघि ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । साथै, कम्पनीको प्राथमिक सेयर निष्कासन (आइपिओ) तत्काल जारी हुने प्रक्रियामा रहेको बताइएको छ ।
१८ महिनाभित्र सञ्चालनमा ल्याउने बताइएको आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग ०८० असार २१ मा विद्युत् खरिद–बिक्रीसम्बन्धी सम्झौता (पिपिए) भएको थियो । साथै, आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको कम्पनीले जनाएको छ ।
आयोजनाको प्रसारणलाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सबस्टेसनमा जोडिनेछ । आयोजनाले अबको ६ महिनामा नै कम्पनीलाई पब्लिक लिमिटेड गरी प्राथमिक सेयर (आइपिओ)मा गई छिट्टै सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरेको जनाएको छ ।