खानेपानीमन्त्री प्रदीप यादवले आज शनिबार बिहान मन्त्रालयमा भएको आगलागीबाट अति आवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको बताएका छन्।
आगलागीपश्चात् तत्काल मन्त्रालय पुगेका मन्त्री यादव, सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रमाकान्त दुवाडीसहितको टोलीले आगलागीले जलेको कार्यकक्षको निरीक्षण गरेको थियो। निरीक्षणपश्चात् सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा मन्त्री यादवले आगलागीबाट महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जानकारी दिएका हुन्।
‘मैले मन्त्रालयका आवश्यक कागजात आफ्नो टेबलमा राख्दिनँ, सबै सही गरेर सचिवज्यूलाई पठाउने गर्छु। सामान्य केही पढ्नका लागि राखिएका कागजातबाहेक कुनै पनि महत्त्वपूर्ण कागजात नष्ट भएको छैन,’ उनले भने।
विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुन सक्ने आशंका गर्दै मन्त्री यादवले भने, ‘हिजो शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको थियो। मैले कार्यालय सहयोगीलाई यसको जानकारी गराएको थिएँ। पानी तताउने मेसिन होला भनेर विद्युतका सबै प्लगहरू निकाल्न लगाएको थिएँ। आज भने आगलागी भयो।’
आज बिहान करिब ८ बजेर ४० मिनेटमा भएको उक्त आगलागीले खानेपानीमन्त्री यादवको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुर्याएको छ। अचानक लागेको आगोले मन्त्री यादवको कार्यकक्षमा रहेका दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सिसिक्यामेराको मनिटरलगायतका सामग्रीमा क्षति भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए।
उनका अनुसार आगलागीबाट करिब रु. ४० देखि ५० लाखसम्मको क्षति भएको हुन सक्ने अनुमान गरिएको र क्षतिको विवरणबारे छानबिन भइरहेको छ।