खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, छितापोखरीका ३३ घर किसानले बाँझो जग्गामा सामूहिक आलुखेती सुरु गरेका छन्। स्थानीय मिलिजुली कृषक समूहले आहालटारको ६० रोपनी बाँझो जग्गामा सामूहिक आलुखेती सुरु गरेका हुन्।
‘रु. १५ हजारमा जग्गा भाडामा लिइएको छ,’ मिलीजुली कृषक समूहका अध्यक्ष गजेन्द्र राईले भने, ‘सामूहिक आलुखेती गर्न संघीय सरकारले रु. १५ लाख बजेट उपलब्ध गराएको छ। यो वर्ष कम्तीमा एक सय मुरी आलुको बिउ रोप्ने योजना बनाएका छौँ।’ हालसम्म ८० मुरी आलुको बिउ रोपिसकिएको उनले जानकारी दिए।
एक सिजनमा सरदर ५० हजार किलो आलु फलाउने लक्ष्य लिइएको सो वडाका वडाध्यक्ष मिलन राईले बताए। प्रतिमुरी रु. चार हजारका दरले खरिद गरिएको भोटाङे, नाम्जुङे र धराने जातको आलु रोपिएको हो। आलुखेतीमा प्रतिट्र्याक्टर रु. ६ हजारका दरले खरिद गरिएको गाईभैँसीको मल प्रयोग गरिएको छ।
गाउँपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आलुखेती सुरु गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए। ‘पहिलो चरणमा संघीय सरकारबाट प्राप्त बजेटबाट सामूहिक खेती सुरु गरिएको छ। आगामी दिनमा गाउँपालिकाले बजेट विनियोजन गरेर सामूहिक आलुखेतीलाई निरन्तरता दिने योजना छ,’ उनले भने, ‘यहाँ उत्पादित आलु भण्डारणका लागि यसै वर्ष भवन निर्माण गर्ने योजना छ। उत्पादित आलु भण्डारण गरेर बिक्री-वितरण गर्न गाउँपालिकाले सहयोग गर्छ।’