आगलागीले धुर्कोट खर्कटोलका दलित परिवारको बिचल्ली

शनिबार, २६ माघ, २०८१
डिजिटल संस्करण

धुर्कोट गाउँपालिका–१ खर्कटोल नयाँगाउँकी अनिता परियारको आँखैअगाडि घर जलेर नष्ट भयाे। उनी बारीमा घाँस काट्दै थिइन्। धुवाँ पुत्ताउनेबित्तिकै दगुरेर घर पुग्दा आगो दन्किएको थियो।  चिच्याएर जताततै हारगुहार गरिन्। तर, केही जोर चलेन।

आँखैअगाडि घरसँगैका उनका सपना जलेर खरानी बने। ‘साँझ ५ बजेपछि छोराहरूलाई खाजा दिएर बारीमा घाँस काट्दै थिएँ। धुवाँ पुत्ताएपछि दगुरेर आउँदा आधा घर थिएन,' उनले भनिन्, ‘चिच्याउँदा र रुँदारुँदै घर जलेर सकियो।’ आगलागीले अहिले चारजनाको परिवारलाई घरबारविहीन बनाएकाे छ।

आगलागीले घरमा रहेको नगद, अन्नपात, कपडा र महत्त्वपूर्ण कागजपत्र जलेर नष्ट भएको पीडित अनिता परियारले जानकारी दिइन्। परिवारमा अनिता र तीन छोरा घरमा छन्। श्रीमान् लक्ष्मण परियार रोजगारीको लागि तीन वर्षदेखि साउदीमा छन्। छुट्टिएर बसेको सानो परिवारमा अहिले ठुलो संकट परेको स्थानीय विष्णु कुँवर बताउँछन्।

अहिले तत्कालको व्यावस्थापनका लागि ससुरा चतुरे परियारकोमा व्यवस्थापन गरिएको कुँवरले बताए। वडा र पालिकामा राहतको लागि प्रक्रिया अगाडि बढेको छ। अनिताका जेठा छोरा अरुण परियार नयाँगाउँ माविको कक्षा ६ मा पढ्छन्। अर्का छोरा अनमोलले देउराली प्राविको कक्षा ३ मा पढ्दै आएका छन्। उनीहरूको कापी किताब र विद्यालयका पोसाकहरू पनि जलेर नष्ट भएका छन्।

वार्षिक परीक्षाको मुखमा कापीकिताब जलेकाले समस्या भएको अरुणले गुनासो गरे। स्थानीय र नयाँगाउँ प्रहरीचौकीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो। विपन्न दलित परिवार भएकाले निकै कष्टका साथ व्यवस्थापन गरिएको छिमेकी धुर्कोट गाउँपालिका–१ का वडाध्यक्ष चेतमान कुँवरले बताए। कार्यपालिकाबाट थप राहत र पुनर्स्थापनाको लागि पहल गरिरहेको कुँवर बताए। 

See More On

सुझावित समाचार